कञ्चनपुर, कात्तिक १४: जिल्लाको भीमदत्त नगरपालिका–४, भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
गत सोमबार साँझ महेन्द्रनगर बजारको भानु चोकनजिकै रहेको पुष्पाञ्जली गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको ज्यान गएको थियो ।अनुसन्धानका लागि चौधरीसँगै गेष्ट हाउसमा रहेका विनोद खत्री, रमेश भट्ट, गेष्ट हाउसका सञ्चालकसहित एक जना युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
मृतक चौधरीको शव परीक्षणको प्रतिवेदन अझै नआएको भन्दै उनले शव परीक्षणको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइनेछ बताए ।
प्रहरी नायब उपरीक्षक चन्दका अनुसार चौधरीको गेष्टहाउसको छतबाट खसेर मृत्यु भएको हो वा हत्या भएको भन्नेबारे अनुसन्धानपछि जानकारी हुने जनाए ।
सोमबार राति नौ बजे घरमा रहेका चौधरीलाई गेष्टहाउसबाट फोन आएपछि छिट्टै घर फर्कने भन्दै गएको र त्यसको दुई घण्टापछि मृत्युको खबर आएको चौधरीका परिवारजनले जनाएका छन् ।