गृहमन्त्रालयद्वारा उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्ने निर्णय

| 2020 May 21 | 02:52 pm 1644

काठमाडौं, जेठ ८ः उपत्यकामा कोरोना भाइरसको जोखिम बढेको भन्दै गृह मन्त्रालयले उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्ने निर्णय गरेको छ। लकडाउनलाई थप कडाई गर्न निर्देश दिँदै गृहले उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्ने निर्णय गरेको हो।

गृहमन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै उपत्यका प्रवेश गर्नुपरे कोरोना भाइरस परीक्षण (आरडिटी) गरेको रिर्पोट अनिवार्य रुपमा चाहिने उल्लेख गरेको छ।

गृहले लकडाउन अवधिभर अत्यावश्यक काम बाहेक उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई उक्त निर्देशन दिएको हो। उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरेको हो।

जेठ १ गतेको बैठकमा भएको छलफलपछि यो निर्णय गरिएको र अब उपत्यका प्रवेशमा थप कडाई हुने गृहले जनाएको छ। गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए।

गृहले उपत्यकाका सबै स्थानीय तहलाई पत्राचार गरी उपत्यका प्रवेश गर्ने नाकामा अत्यावश्यक प्रयोजन बाहेक पूर्ण रुपमा सिल गर्न र लुकिछिपी प्रवेश गर्नेलाई निगरानी गरी पूर्ण रुपमा रोक्न निर्देशन दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.