काठमाण्डौं, असार १७: गृह मन्त्रालयको नक्कली लेटरप्याड बनाई प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षरसमेत किर्ते गरिएको फेला परी एक दम्पत्तीलाई पक्राउ गरिएकाे छ।
पक्राउ पर्नेमा बारा निजगढ घर भएकी काभ्रे धुलिखेल बस्ने ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजनकुमार थापालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेट नजिकबाट एक दम्पत्ती पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।
विशेष सूचनाको आधारमा महानगरिय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा उनीहरूकाे साथबाट सरकारी छाप र दस्तखत किर्ते गरेको कागजात फेला परेका थिए ।
गृह मन्त्रालयको नक्कली लेटर प्याडमा मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको नक्कली हस्ताक्षर गरिएको पाइएको हाे । प्रहरीले अधिकारीको बुबाको मृत्यु नेपाल सरकारको कारण भएकाले क्षतिपूर्ति स्वरुप रु ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख दिने उल्लेख गरिएको किर्ते कागज, १३ थान बैंकको चेक, विभिन्न व्यक्तिको राहदानी तथा नगद ४२ हजार २ सय १० समेत बरामद भएको छ ।
उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी जनाए ।