काठमाडौं, जेठ २३ : गृहमन्त्री रामबहादुर थापा बादल समयमा काम पूरा नगर्ने निमार्ण व्यवसायी र निमार्ण कम्पनीहरूलाई कारबाही गर्न लागिपरेका छन् । अहिले समयमै काम नगर्ने निमार्ण व्यवसायीहरुको सूची सरकारले सङ्कलन गरिरहेका छन् । ठाउँठाउँमा पक्राउ पनि परिसकेका छन् ।
गृह मन्त्रालयको कदमप्रति निर्माण व्यवसायी महासंघले भने विरोध गर्दै आएको छ । गृह मन्त्रालयले निर्माण व्यवसायीहरूको मर्म नबुझेको निर्माण व्यवसायी महासंघका अध्यक्ष बिष्णुभाइ श्रेष्ठले बताएका छन् ।
सरकारको कदमले अहिले अराजक स्थिति सिर्जना भएको उनले बताए । श्रेष्ठले केही सञ्चारकर्मीसँग कुरा गर्दै भने- ‘ढिलासुस्ती गरेको भए दण्ड जरिवाना गर्न मिल्छ । यी अनेकन नियम कानुन छन्, जसले हामीलाई नियन्त्रण गर्न सकिन्छ । तर, त्यो नियम कानुन मिचेर अहिले अराजक स्थिति सिर्जना गरिएको छ, यसलाई म साँढेपना भन्छु ।’
उनले थपे ‘हिजो यस्तो जङ्गबहादुर थियो होला, तर मैले उसको शासनकाल भोग्नु परेन । तर, आज त देशमा कोही जङ्गबहादुर छैन नि । के गृहमन्त्री जङ्गबहादुर हुन खोज्या हो श्री ३ महाराजको ‘स्टाइल’ ले कसैले पनि कुरा गर्नुभएन । यति बुझ्नुपर्यो कि हामीसँग १५ देखि २० लाख निर्माण व्यवसायीहरू छन् । हामी थोरै छैनौँ । सस्तो नारा लगाएर देश चल्दैन ।’
यदि स्थापित व्यवसायी चाहिने हो भने देशको समृद्धि निर्माण व्यवसायीमार्फत गर्ने हो भने व्यावसायिक ढङ्गले व्यवहार गर्नुपर्ने बताए। श्रेष्ठले गृहमन्त्रीले इञ्जिनियरिङ नपढेका कारण पुलिसको भाषा बोलिरहेको आरोप समेत लगाएका छन् । गृहमन्त्रीले अहिले चोरहरूलाई बोल्नु पर्ने पुलिसको भाषा निर्माण व्यवसायीलाइ बोलिरहेकाे समेत अाराेप लगाए ।