गृहमन्त्री बादल र दक्षिण कोरीयाली राजदूतबीच शिष्टाचार भेट

| 2018 Aug 02 | 07:04 pm 1702

काठमाडौँ, साउन १७ :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकबीच आज शिष्टाचार भेट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले पछिल्लो समय दक्षिण कोरिया र उत्तर कोरियाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले समग्र विश्वमै शान्ति कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले दक्षिण कोरियामा नेपाली कामदारलाई रोजगारीको अवसर दिएकोमा राजदूतलाई धन्यवाद व्यक्त गर्दै त्यहाँ कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा चासो राखेका छन् ।

भेटमा राजदूत सिकले नेपालको प्रवेशाज्ञा प्रक्रिया केही झन्झटिलो रहेको कारण कोरियालीहरु नेपालमा लगानी गर्न आउँदा केही समस्या रहेको बताएपछि गृहमन्त्री थापाले त्यसबारे छलफल गरेर सुधार गर्ने जवाफ दिइन ।

राजदूत सिकले नेपालमा ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा कोरियाली कम्पनीले लगानी गरिरहेको भन्दै त्यसमा थप लगानी गर्न कोरिया तयार रहेको बताइन ।

उनले हाल ३५ हजार नेपाली दक्षिण कोरियामा कार्यरत रहेको र २० हजारले कार्य अवधि समाप्त गरी नेपाल फर्किसकेको जानकारी दिँदै कोरियामा कार्यरत नेपालीका हितमा आफुहरु संवेदनशील रहेको बताइन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.