गृहमन्त्री थापाको पीसीआर रिपोर्ट नेगेटिभ

रिपोर्ट नेपाल | 2020 Aug 08 | 03:49 pm 2220

काठमाडौं, साउन २४ः गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

कोभिड–१९ सङ्क्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उनको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

यही साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी भएका थिए।

त्यसको पाँच दिनपछि मन्त्री यादवलाई कोभिड–१९ पुष्टि भएपछि उनको ‘क्लोज कन्ट्याक’मा रहेका गृहमन्त्रीसहित सहभागी टोलीको परीक्षण भएको थियो।

परीक्षणमा गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राई, र राजनीतिक सल्लाहकार सूर्य सुवेदीको रिपोर्ट नेगेटिभ आएको भट्टराईले जानकारी दिए।

यसअघि प्रधानमन्त्री ओलीसहित उक्त कार्यक्रममा सहभागी उच्चपदस्थ व्यक्तिको परीक्षण रिपोर्टसमेत नेगेटिभ आएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.