गृहमन्त्रीको नाम लिएर २० लाख ठग्ने ढकाल पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 02 | 02:48 pm 1470

काठमाडौं, साउन  १७ : विवादित मुद्दाहरु मिलाई दिन्छु भन्दै एसपी, सिडिओ र गृहमन्त्रीसम्मको नाम लिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनस्थित सन्देश फाउन्डेसन नामको पुनस्र्थापना केन्द्रका सञ्चालक गौरबबाबु ढकाल रहेका छन् । उनलाई चितवनको प्रहरी टोलीले गए राति काठमाडौंबाट पक्राउ गरेको हो ।

ढकालले लेनदेन र विवादित अन्य मुद्दा मिलाई दिन्छु भन्दै पैसा लिएर ठगी गर्ने गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिएका छन् । पछिल्लो समय उनले एक हार्डवयरको लेनदेन विवाद मिलाउन एसपी, सिडिओ र गृहमन्त्रीसम्म सेटिङ मिलाउनु पर्ने भन्दै २० लाख ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।

‘१० लाख ठगिसकेको पाइयो । अर्को १० लाखको चेक साउन अन्तिम साता साट्ने गरी लिइसकेको रहेछ,’ एसपी मल्ले भने, ‘अन्य ठाउँमा पनि ठगी गरेको भन्दै मौखिक उजुरी परेको छ । हामी अनुसन्धान गरिरहेका छौं ।’

पैसा लिएर काम नगरेपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए । त्यसपछि उनी फरार भएर काठमाडौं बस्दै आएको अवस्थामा पक्राउ परेका हुन् । उनीमाथि ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.