गृहजिल्ला झापा पुगे प्रधानमन्त्री ओली

रिपोर्ट नेपाल | 2019 Jan 31 | 12:54 pm 1538

भद्रपुर- प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन्।

उनले दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले बताए।

प्रधानमन्त्रीसँगै संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबीन्द्र अधिकारी,महान्यायधिवक्ता अग्नि खरेल सहभागी छन्। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीले आजै अपराह्न नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले बताए।

त्यसैगरी प्रधानमन्त्रीले आजदेखि चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गरेर काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीको भनाइ छ ।

विसं २०२६ बाट चन्द्रगढी–काठमाडौँ उडान भर्न शुरु गरेको चन्द्रगढी विमानस्थलमा दैनिक एक हजार बढी यात्रु आउने जाने गरिरहेको विमानस्थलका प्रमुख पूर्ण चुँडालले बताए। उनका अनुसार दैनिक यहाँबाट बुद्धएयरका दुई वटा, यतिका दुई वटा, श्री एयरका दुई वटा र हप्तामा तीन पटक नेपाल एयरलाइन्सले काठमाडौँसम्मका उडान भरिरहेका छन् ।

फ्रेबु्रअरी १० देखि नियमित रात्रिकालीन सेवा दिने बुद्धएयरले बुधबार राति परीक्षण उडानसमेत गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.