गुल्मी, साउन ७ : गुल्मी पहिरोमा पुरिएर मृत्यु हुनेप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दुख व्यक्त गरेका छन् । मंगलबार एक सन्देश जारी गर्दै मन्त्री विष्टले राहत र उद्धारमा जुटन आग्रह पनि गरेका छन् ।
मन्त्री विष्टले उद्धार राहतको लागि कुनैपनि कशुर बाकी नराखी जुटन आग्रह गरेका छन् । जरी सन्देशमा भनिएकाे छ- ‘यस विपत घडिमा वेपत्ता भएकाहरुकाे खाेजी, घाइतेहरुकाे उपचार तथा पहिराे पीडितहरुकाे राहत र उद्दारमा सबैलाई जुट्नको लागि अपिल गर्दछु ।’
सत्यबति गाउँपालिकाका २ वटा वडामा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ९ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ६५ वर्षिया छल्ली बिक, २८ वषिया पम्फा बिक, १२ वर्षिया अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक, सन्दीप बिक रहेका छन् ।
त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु, ९ वर्षिय दर्शन त्रामु मृत्यु भएको छ । उनिहरु आमा छोरा हुन् ।
सोहि वडामा रुद्र बिकको घर पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् । अरु २ जना बेपत्ताको नाम थर खुल्न सकेको छैन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् ।
सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएका छन् । गएराती देखि परेको अबिल वर्षातले घरमाथीबाट पहिरो जँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो ।