गुल्मी कांग्रेस सभापति पन्थीलाई पितृशोक

रिपोर्ट नेपाल | 2022 Jul 20 | 12:15 pm 2521

गुल्मी, साउन ४ः नेपाली कांग्रेस गुल्मीका सभापति एवं रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीलाई पितृशोक परेको छ । विगत दुई वर्षदेखि दम रोगबाट पीडित खगेश्वर पन्थीको उपचारको क्रममा निधन भएको कुरा पन्थीका नाती शालिक पन्थीले जानकारी गराएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारार्थ भर्ना भएका पन्थीको बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा निधन भएको अस्पताल स्रोतले बताएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरेका पन्थीको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्य प्रताप सेनले पार्टीलाई अपुरणीय क्षति भएको जनाएका छन् ।

त्यस्तै महाधिवेशन प्रतिनिधि कृष्ण प्रसाद सापकोटाले स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै एक सच्चा र निडर अभिभावक गुमाएको जनाएका छन् ।

स्वर्गीय पन्थीको दुई श्रीमती मध्य एकको पहिल्यै निधन भएको र जेठी श्रीमती निर्मलादेवी पन्थी भने जिवित हुनुहुन्छ । तीन छोरा तीन छोरी रहेका पन्थीका खिलध्वज पन्थी, खिमानन्द पन्थी, उमाकान्त पन्थी हुन भने उमकला पाण्डे, कमला खनाल र मैया मरासिनी छोरी रहेका छन् ।

पन्थीको आजै दिउँसो पवित्र तिर्थ स्थल कालीगण्डकीको किनारमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ । स्वर्गीय पन्थीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्नका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसी, पूर्व केन्द्रीय सदस्य चन्द्र भण्डारी, लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ लगायतका नेता कार्यकर्ता रिडी जाने कार्यक्रम रहेको छ ।

पवित्र तिर्थ स्थलमा पन्थीको अन्तिम संस्कारका लागि सबै कार्य पूरा भएको नेपाली कांग्रेस रिडीका वडा सभापति अमुल्य श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.