गुल्मी ईस्माका जनप्रतिनिधिले पाँच सन्तानकी आमालाई गर्भवती बनाए

| 2021 Aug 27 | 05:02 pm 38693

गुल्मी, भदौ ११ः जिल्लाको क्षेत्र नं. २ अन्तरगत ईस्मा गाउँपालिका वडा नं. ३ का वडा सदस्य सिरबहादुर कुँवरले आफ्नै छिमेकी एक एकल महिलासँग अवैध यौन सम्पर्क राखि गर्भवती बनाएका छन् ।

वडा नं. ३ का वडा अध्यक्ष तोयानाथ सापकोटाले पनि पाँच सन्तानकी आमालाई गर्भवती बनाएको र गर्भ सात महिना पुगेको बताएका छन् ।

रिपोर्ट नेपाललाई गुल्मीबाट प्राप्त समाचार अनुसार नाती नतिना भइसकेका वडा सदस्य कुँवरले २ वर्ष अघि निधन भएका व्यक्तिको श्रीमतीलाई गर्भवती बनाएका हुन् ।

आफूलाई जनताको सेवक र वडाको विकास प्रेमी भनेर बताउँने कुँवरको घरमा श्रीमती जिवितै छन् । वडा सदस्य कुँवरले गर्भवती बनाएको ति महिलाले छिमेकीसँग बताएपछि छिमेकीले वडा सदस्य कुँवरलाई केरकार गर्दा गर्भ आफ्नो भएको स्विकार गरेका थिए ।

गर्भवती महिलाकी एक छोरीको विवाह भइसकेको छ भने दुई किशोरी अवस्थामा रहेको बुझिएको छ । ६ वर्षीया छोरी र चार वर्षीय नावालक छोराका विषयमा के गर्ने भन्ने शुक्रबार अपरान्हसम्म वडा अध्यक्ष तोयानाथ सापकोटाको रोहवरमा छिमेकीले छलफल गरिरहेको बुझिएको छ ।

यस विषयमा वडा अध्यक्ष सापकोटासँग दुई किशोरी छोरी आफ्नो काम गरेर खान सक्ने भएकोले केही गर्न नपर्ने र दुई नावालकलाई वडा सदस्य सिरबहादुर कुँवरले पालन पोषण गर्नुपर्ने विषयमा छलफल भइरहेको बताए ।

गर्भमा हुर्किरहेको शिशुको विषयमा भने कथित जनप्रतिनिधि कुँवरले सम्पूर्ण जिम्मा लिनुपर्ने विषयमा पनि छलफल भइरहेको वडा अध्यक्ष सापकोटाले जनाएका छन् । कानुन त घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याएमा कारबाही हुने उल्लेख छ ।

जनप्रतिनिधिबाट भएको यो गैह्र कानुनी कृयाकलापलाई स्थानीय प्रशासनले कसरी हेर्ने हो त्यो भने हेर्न बाँकी नै छ । पेटमा हुर्किरहेको शिशुको रक्षाका लागि र जनप्रतिनिधिबाट भएको गैह्र कानुनी कार्यलाई प्रशासनले कदम चाल्न आवश्यक भएको स्थानीय महिला बताउँछन् । कानुन अनुसार विवाह दर्ता गर्न नमिल्ने र शिशुको जिवन रक्षा भएन भने ति एकल महिला घर न घाटको हुने निश्चित प्राय छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.