गुल्मीमा वडाध्यक्षले दिए पालिका प्रमुखहरुलाई चुनौती

रिपोर्ट नेपाल | 2020 Apr 06 | 09:33 pm 2291

  • प्रेम सुनार

गुल्मी, चैत्र २४: रचनात्मक काम गर्नेहरुका लागि कुनै ठुलो पद वा सबै खाले पहुँच चाहिन्छ भन्ने मान्यतालाई गलत सावित गरिदिएका छन् । गुल्मीका एक वडाध्यक्षले ।

जिल्लाको रेसुङ्घा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले कोरोना भाईरसको संक्रमण एक अर्कामा सर्नबाट रोक्ने ईन्फेक्शन केमिकल जिल्लामा पहिलो पटक आफ्नो वडाका सडकमा छरेर त्यस्तो मान्यतालाई गलत सावित मात्रै गरेनन्, १२ वटै स्थानीय तहका प्रमुखहरुलाई चुनौती समेत दिएका छन् ।

आईतवार साँझ वडा नम्वर ८ का सडकहरुमा नेपाली सेनाका दर्जनौं सैनिकहरुले ट्रकमा राखिएको स्प्रे मार्फत उक्त केमिकल सडकहरुमा छरेको देख्दा स्थानीयवासी टिभीमा त देखेका थियौं आज प्रत्यक्ष आफ्नै टोलमा छरेको देखियो भनेर खुशी प्रकट गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्ला अस्पतालका लागि उक्त किटनासक औषधि एक संस्थाले दुई दिन अघि हस्तान्तरण गरेको भए पनि सार्वजानिक स्थानमा जिल्लामा पहिलो पटक रेसुङ्घा नगरपालिका वडा नम्वर ८ ले छर्केको बताए ।

त्यहाँका वडाध्यक्षले म संग स्वीकृत लिएर सेनाको जनशक्ति र साधन मार्फत सडकमा किटनासक औषधी छर्किएको उनले जानकारी दिए ।

नेपाली सेना सत्रुमर्दन गुल्म धागीथुम ब्यारेकका गुल्मपति सेनानी भुपेन्द्र गुरुङ्घले दमकल समेतको प्रयोग गरी एक हजार लिटरको ड्रममा रहेको किटनासक औषधी बाख्रेछेंडा हुँदै वडा नम्वर ८ को सबै भित्रि सडकदेखि पुतलीबजार चोक सम्मको सडकमा छर्किएको जानकारी दिए ।

वडाध्यक्ष भरत भलामीसंग उक्त किटनाशक औषधि कहाँबाट कसरी मगाउनु भयो ? भन्ने जिज्ञाषा राख्दा उनले कुनै पनि सरकारी निकायबाट नभई भैरहवास्थित एक जना साथीको सहयोगमा झिकाईएको जानकारी दिए ।

‘मेरो वडामा मात्र नभई तमघास बजार भित्रका अन्य वडाहरुमा पनि उपलब्ध गराउन चाहन्छु, वडाध्यक्षहरुलाई भनेको पनि छु तर उहाँहरुले रुची राख्नु भएको छैन, यस्तो बेला किटनासक औषधिको महत्व नबुझेर हो वा झण्झट ब्यहोर्न नचाहेर हो थाह भएन’– वडाध्यक्ष भलामीले भने ।

रेसुङ्घा नगरपालिका वडा नम्वर ८ मा उक्त किटनासक औषधि पठाउने साथी र रातको समयमा सडकमा खटेर छर्किन सहयोग पुराउने नेपाली सेना, सत्रुमर्दन गुल्मले पुराएको सहयोग प्रति उनले कृतज्ञता जाहेर गरे ।

वडाध्यक्ष भलामी नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधी हुन् । उनी नेपाल तरुणदल गुल्मी जिल्ला संगठनको अध्यक्ष समेत रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.