गुल्मीमा निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशाला अलपत्र

रिपोर्ट नेपाल | 2022 Dec 13 | 07:42 am 1457

गुल्मी, मंसिर २७ः गुल्मीमा निर्माणाधीन अन्तराष्ट्रिय रंगशाला अलपत्र परेको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय रंगशाला रकम अभावका कारण अलपत्र परेको हो ।

माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्यका लागि २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौंसँग राष्ट्रिय खेलकुद परिषद्ले कुल २ करोड ८० लाखमा सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७६ चैतमा काम अघि बढे पनि त्यसपछि भने काम अलपत्र अवस्थामा छ ।

‘रंगशालाका नाममा चौरको नाम–निशाना नै हटाइयो, अहिले चौर नै यता न उताको अवस्थामा छ,’ इस्मा गाउँपालिका–६ अम्मरपुरका ओमबहादुर कुमाल भन्छन्, ‘समयमै रंगशाला नबन्दा राज्यको लगानी बालुवामा पानी खन्याएजस्तो भएको छ । चौरमा पहिले रातो माटो हुने र त्यो लगेर घर लिपपोत गर्ने गरे पनि अहिले त्यो पनि हराएको छ ।’

अर्का ६५ वर्षीय कृष्णबहादुर कुमालले रंगशाला छिटो बन्नुपर्नेमा जोड दिए । ‘हामीलाई वर्षौंदेखि रंगशाला निर्माणपछिको विकासको सपना देखाइयो,’ उनले भने, ‘तर काम पूरा नहुँदा हामी निराश छौं ।’ नेताहरूले पटकपटक रंगशाला’bout चर्चा गर्ने गरे पनि काम नगर्दा समग्र राजनीतिप्रति नै वितृष्णा पैदा भएको उनले बताए ।

रंगशालामा यतिबेला धमाधम खेलकुदका कार्यक्रम सञ्चालन हुनुपर्नेमा गाडी सिक्ने ठाउँ भएको कुमाल बताउँछन् । अहिले रंगशालाका विभिन्न ठाउँमा खाल्टा परेका छन् भने पर्खाल पनि भत्किँदै गएको छ । रोपिएको दुबोको निशानासमेत हराएर झार उम्रिएको छ ।

झन्डै १ अर्ब लागतमा निर्माण हुनेगरी १ सय ५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको रंगशालाको डीपीआर गरिएको थियो । सो डीपीआरमा कभर्ड हल र स्विमिङ पुल पनि राखिएको छ । तर, काम भने अघि बढेको छैन ।

उता, राष्ट्रिय खेलकुद परिषद् निर्माण शाखाका प्राविधिक माधव देवकोटा रकम अभावका कारण काम अघि बढ्न नसकेको प्रतिक्रिया दिन्छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.