-कृष्णप्रसाद सापकोटा
अहिले देश भित्र र देश बाहिर समाजसेवा गर्छु भन्नेहरुको एक किसिमका तिब्र प्रतिष्पर्धा र भिड लागेको छ । कतिपय मान्छेहरु समाजसेवालाई भर्याङ बनाएर मेवा खान व्यस्त छन् भने कतिपय त्यसकै नामबाट राज्यका निकायमा आफ्नो सन्तान दर सन्तानको नाम राख्न लागि परेका छन्। समाजसेवा पछिल्लो समय एक किसिमको कमाई खाने भाँडो भएको छ भन्दा फरक पर्दैन ।
देशको ढुकुटिबाट रकम निकासा गरेर गाँउ वस्तीका सोझासाझा जनताको आँखामा नक्कली समाजसेवी बन्नेको लर्को पनि हामी कहाँ लामै देखिन्छ । राज्यका विभिन्न पद भत्ता र सत्ताको स्वाद लिँदै भाषणरुपी समाजसेवा गर्नेहरु पनि प्रशस्तै छन् ।
यस्ता कथित समासेवीका भिडमा गुल्मी जिल्लाको वामी मिजरपोखरा भन्ने ठाउँमा जन्मी बालकृष्ण सापकोटाको समाजसेवा गर्ने शैली भने फरक किसिमको छ ।
अर्काको रकम माथि बुर्कुसी मार्दै समाजसेवाको विल्ला भिरेका समाजसेवी भनाउदाहरुलाई सापकोटाले भने चुनौती दिएका छन् । करिब एक्काइस वर्ष अगाडी गुल्मी छाडेर नवलपरासी बसाई सराई गरेका बालकृष्ण सापकोटा बाह्र वर्षदेखि यूरोपमा व्यवसाय गर्दै आएका छन् ।
यूरोपको लक्जम्बरमा बाह्र वर्षदेखि रेष्टुरेन्ट चलाउँदै आएका सापकोटाले विदेशी भूमिमा रगत पसिना गरेर कमाएको केही प्रतिशत रकम आफू जन्मेको र बसाई सराई गरेको गुल्मी र नवलपरासीको सामाजिक कार्यमा खर्च गर्ने गरेका छन् । उनी लक्जम्बरमा बसेर नेपालीलाई आई पर्ने समस्यामा समेत बैशाखी बनेर खडा हुने गरेका छन् ।
त्यहाँको वस्तुस्थिती नबुझि गएका कैयौं नेपालीलाई उनले सही लाइन र बाटो देखाई दिएर थुप्रै नेपालीका अभिभावक जस्तै बनेका छन् । यूरोपमा रगत पसिनाबाट आर्जन गरेको पैसाको केही हिस्साबाट सापकोटाले हालको नवलपुर जिल्लाको अरुणखोलामा रहेको जनता माध्यमिक विद्यालयको भवन निर्माण गर्दा सहयोग गरेर ठूलो गुण लगाएका छन् ।
पैसा हुनेले त बोडिङमा पढाउँला नहुनेका लागि सामुदायिक विद्यालयको भौतिक साधन स्रोत हुनुपर्छ भन्ने सोच भएका कारण सामुदायिक विद्यालय बनाउन सहयोग गरेको उनको कथन छ । जसरी शिक्षाको विकासको लागि लागि भवन निर्माणलाई सहयोग र समर्थन गरे तिनै सापकोटाले मानसिको बाँच्न पाउने अधिकार पनि सुरक्षित हुनुपर्छ भनेर स्थानीय सरकारी अस्पताललाई समेत सहयोग गरेका छन् ।
सबै धर्म, भाषा र भेषको उच्च सम्मान गर्ने सापकोटा आफू क्रिस्चियन मुलुकमा बसे पनि हिन्दु भएको सगर्व बताउँदै विभिन्न मठ, मन्दिरलाई पनि सहयोग गर्दै आएका छन् । विपन्न वर्गका बालबालिकाको शिक्षा, स्वास्थ्यको विशेष ख्याल गर्ने सापकोटाले लमजम्बरमा रेष्टुरेन्ट संचालन गरेका छन् ।
उनी आफू नेपाली कांग्रेस निकट भएर पनि देशबाट जाने सबै पार्टीका नेता कार्यकर्तालाई उच्च सम्मानका साथ स्वागत गर्ने गरेका छन् । उनको लक्जम्बरमा भएको घरमा उच्च तहका नेता देखि कार्यकर्ताले स्थान पाउने गरेका छन् ।
केही महिना अघि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न जनसम्पर्क समितिको प्रथम अधिवेशनबाट वैधानीक रुपमा अध्यक्ष बनेका उनी त्यस अघि पार्टीले आधिकारीकता नदिएका समयमा समेत अध्यक्ष रहेका थिए । उनी गैह्र आवासीय नेपालीको पनि त्यहाँको नेता हुन् । भित्री आत्माबाट चाहाना राख्ने हो र दीर्घ इच्छा राख्ने हो भने आफ्नै कमाईबाट पनि समाजसेवा गर्न सकिन्छ भन्ने एक पात्र सापकोटा हुन् ।