गुल्मी, वैशाख ६: गाउँमा लुकेर रहेका प्रतिभाहरुलाई प्रष्फुटन गराउनका लागि गुल्मी लोकतारा २०७६ सिजन २ संचालन हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति गुल्मीले जिल्लाका स्थानीय तहहरुमा गई पहिलो चरणको अडिसन संचालन गर्ने लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाका अध्यक्ष जनक पन्तले जानकारी दिए ।
अडिसन यहि वैशाख १५ गते देखि संचालन हुने भएको छ । अडिसनमा भाग लिनका लागि उमेरको हदबन्दी तोकीएको छैन तर एल्बम निकालेका कलाकारहरुले भने भाग लिन नपाउने अडिसन कार्यक्रम संयोजक बसन्त खत्रीले बताए ।
लोकताराबाट प्रथम हुनेले नगद ५० हजार, कप र प्रमाणपत्र, द्धितिय हुनेले नगद ३० हजार, कप र प्रमाणपत्र, तृतिय हुनेले नगद २० हजार कप र प्रमाणपत्र पाउने खत्रीले जनाए । अडिसन असार मसान्त सम्म सम्पन्न गर्ने शाखाका अध्यक्ष पन्तले जानकारी दिए ।