गुल्मीमा अर्को विपत्ती एकको मृत्यु, पाँच घाइते

रिपोर्ट नेपाल | 2019 Jul 28 | 09:39 am 2142

गुल्मी, साउन १२:  सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घाको घाउ सेलाउन नपाउँदै छिमेकी गाउँपालिका कालिगण्डकीमा अर्को प्रकोप आई लागेको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ छापाचौरमा कुमारी परियारको तीन तले घर भत्कीदा १३ वर्षीय विक्की परियारको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

घाइते मध्ये एक जनाको स्थिती गम्भीर रहेको बुझिएको छ । २०७२ को भूकम्पबाट चर्किएको तीन तले घरको भुँइतलमा गाइवस्तु राख्ने र बीचमा आफूबस्दै आएको परियारको परिवारले माथिल्लो तलमा अन्नपात राख्दै आएको कुरा पूर्व गाविस अध्यक्ष गोपाल श्रेष्ठले बताए ।

शनिबार दिनभर खेत रोपेर राति आराम गरिरहेका बेला अविरल वर्षाका कारण रातको ११ बजे उनको घर भत्किएको थियो । मृतक विक्की दिदीको रोपाइका लागि सहयोग गर्न आएका थिए । घाइते हुनेहरुमा घरधनी ३४ वर्षीया कुमारी परियार रहेकी छन् । उनका श्रीमनको डेढ वर्ष अघि मृत्यु भइसकेको छ । घाइते हुने अन्यमा सहयोग गर्न आएका माइती दाजु ३५ वर्षीय फटीक परियार, ३३ वर्षीय बहिनी खिमकुमारी परियार, उनका १० महिने छोरी सोनी परियार र कुमारीका छोरा १० वर्षीय साजन परियार रहेका छन् ।

उनकै बहिनी जमुना परियार भने बाहिर निस्कन सफल भएर हार गुहार गरेकी थिइन् । घाइते पाँच जनालाई गुल्मी यातायातको जिप मगाएर वरेङ्गबाट पाल्पा उपचारका लागि पठाइएको स्थानीय समाजसेवी लोकप्रताप शाहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.