गुल्मीदरबारमा महिलालाई उद्यमी बनाई आत्मनिर्भर गराउन अचार बनाउने तालिम सम्पन्न

| 2021 Nov 02 | 05:54 pm 1917

  • सन्तोष महतारा

गुल्मी, कात्तिक १६ः गुल्मीको गुल्मीदरबार गाउँपालिकाले महिलाहरुलाई उद्यमी बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले ७ दिने अचार बनाउने तालिम दिइएको छ । गाउँपालिका भित्रका २५ जना महिलालाई गाउँपलिकाको १ लाख आर्थिक सहयोग र ए फोर ट्रेनिङ सेन्टर रुपन्देहीको व्यवस्थापन सहयोगमा अचार बनाउने तालिम दिएको गाउँपालिकाले जनाएको छ ।

No description available.

तालिममा सहभागी महिलाहरुले गाउँपालिकाको यस्तो कार्यक्रमले आफूहरू उद्यमी बनेर आत्मनिर्भर बन्ने बताएका छन् । तालिममा सहभागी गाउँपालिकाको वडा नम्बर १ की मिना पुनले केही वर्ष अगाडि बिदेश गएर आफूले भोगेको नमिठो अनुभव सुनाइन् । यस्तो तालिम आफूले पहिले पाएको भएमा बिदेश जान नपर्ने उनले बताइन् । अब गाउँपालिकाले अचार बनाउने तालिम दिएकोले आफू व्यवसायीक रुपमा लागेर उद्यमी बन्ने प्रतिज्ञा गरिन् । त्यस्तै तालिममा सहभागी गाउँपालिकाको वडा नम्बर २ कि सरस्वती गौतमले तालिम पहिले गरिएको भएपनि यश तालिममा सक्रिय भएर सिकेको बताइन् । ७ दिने तालिमले अब आफू आत्मनिर्भर हुने आशा जागेको उनले बताइन् । अन्य प्रकारका तालिम पनि गाउँपालिकाले आयोजना गर्नुपर्ने उनले बताएकी थिइन् । त्यस्तै तालिममा सहभागी अर्की महिला निशा पौडेलले आफू अब अचार बनाएर जीविकोपार्जन गर्न लाग्ने भन्दै आफू आफैमा आत्मनिर्भर बन्न सक्ने बनाइन् । यस्तो तालिम लिन आफूले अवसर पाएकोमा उनले गाउँपालिकाको प्रशंसा गरिन् । तालिममा सहभागी २५ जना महिलाले तालिमले एउटा आँट दिइरहेको बताएका थिए ।

तालिममा प्रशिक्षक समेत रहेकी भगवती बस्यालले व्यवसायीक रुपमा निरन्तरता दिन तालिम लिने सबैलाई आग्रह गरिन् । घर वरपर हुने विभिन्न फलफूल, तरकारीहरुलाई अचारको रुपमा राखेर बर्षदिनसम्म प्रयोग गर्न सकिने उनले बताइन् । ट्रेनिङ सेन्टरकी प्रवन्ध निर्देशक हेमा बेल्बासेले सीप सिकेर सबै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् । यस तालिमले महिला उद्यमी बन्न सफल हुने उनले बताइन् । सीप सिकेर श्रीमान् र श्रीमती दुवैले केही गरेमा घरमा घरायसी झगडा पनि नहुने उनले बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न तालिमहरु दिइएको बताए । यसअघि डोजर अपरेटर तालिम समेत गाउँपालिकाले दिएको उनले बताए । सानो लगानीले महिला उद्यमी बन्ने भएकोले यस्तो तालिमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाइ रहेको थियो । महिलाहरु अचार बनाएर उद्यमी बन्न चाहिने आवश्यक पुर्वाधारमा पनि गाउँपालिकाले सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरे । गाउँपालिकाको चिनारीका साथ अचारलाई व्यवसायीकरण गर्न समेत उनले तालिम लिएकाहरुलाई आग्रह गरे । सहभागी सबैलाई गाउँपालिकाले प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिकाका कार्यावाहक अध्यक्ष तथा उपाध्यक्ष मिना भण्डारीले सीप सिकेर सबै महिला आत्मनिर्भर बन्न आग्रह गरिन् । गुल्मीदरबार गाउँपालिकाको चिनारीका साथ तमघास, बुटवल, भैरहवा र काठमाडौंसम्म अचार पुराएर गाउँपालिकाको उत्पादनलाई जताततै चिनाउन उनले आग्रह गरिन् । तालिम लिइसकेपछि अब व्यवसायका रुपमा अगाडि बढाउन उनले आग्रह गरिन् । सीप र शिक्षालाई महत्त्वका साथ दिएर व्यवसाय गर्न जोड दिएकी थिइन् । गाउँपालिकामा उत्पादन हुने अकबरे खुर्सानी, लाम्चो खुर्सानी, आँप, तामा, अमला, अदुवा, लसुन, ठूलो करेला, तिते करेला, कागती, मेथि लगायतका ११ प्रकारका अचारहरु महिलाहरुले उत्पादन गर्न सिकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.