गुल्मीको रेसुङ्गामा कसले मार्ला बाजी ?

रिपोर्ट नेपाल | 2021 Oct 01 | 02:36 pm 24821

गुल्मी, असोज १५ः नेपालको सबै भन्दा जेठो लोकतन्त्रवादी पार्टी नेपाली काङग्रेस यतिखेर आफ्नो १४औं महाधिवेशन सम्पन्न गर्ने शिलशिलामा सक्रिय भएर लागिपरेको छ । आउँदै गरेको महान चाड विजया दशमीलाई जस्तै गरी आफ्ना वडा कार्यसमितिको निर्वाचन सकिएपछि अहिले गाउँ नगरको निर्वाचनमा केन्द्रित भएको छ। यसै अन्तरगत नेपाली काङग्रेस गुल्मीमा पनि निर्वाचनको सरगर्मी वढ्दै गएको छ।

दुई नगरपालिका र दश गाउँपालिका भएको गुल्मीका सम्पूर्ण पालिकाहरुको अधिवेशन अन्तिम तयारी भईरहँदा पालिका र नगरको नेतृत्व लिनका लागि स्थानीय तहका नेताहरु धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।

गुल्मी जिल्लाको सदरमुकाममा रहेको रेसुङ्गा नगरपालिकामा पनि चुनावी सरगर्मीले तताएको छ । महाधिवेशनमा नगर सभापतिको उम्मेदवारी घोषणा तीन जनाले गरेका छन् । यो समाचार तयार पार्दासम्म घोषणा गर्नेमा जयश्वर पन्थी, गगन केसी, हरी कुमार श्रेष्ठले खुला रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

यसरी सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका मध्ये जयश्वर पन्थी नेपाल निजामति कर्मचारी युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष भइसकेका व्यक्तित्व हुन् ।

लामो समय निजामती कर्मचारी ट्रेड युनियनको विभिन्न भूमिकामा रहेर ट्रेड युनियन आन्दोलनलाई उचाइमा पुर्याएका पन्थी २०३६ सालदेखि नेपाल विद्यार्थी संघको सदस्यता लिएर काठमाडौंको नेपाल ल क्याम्पसमा आइ एल अध्ययन गर्दा नेपाल विद्यार्थी संघको तर्फवाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सदस्य पदमा उम्मेदवार बनेका पुराना नेता हुन् ।

२०४७ सालमा निजामती सेवामा प्रवेश गरेका पन्थी २०५२ सालमा नेपाल निजामती कर्मचारी युनियन गुल्मीको जिल्ला सदस्य २०५४ सालमा जिल्ला उपाध्यक्ष र २०५८ सालदेखि लगातार ९ वर्ष सम्म जिल्ला अध्यक्ष भै युनियन गुल्मीलाई कुशल नेतृत्व प्रदान गरेका थिए।

२०६२ र ६३ को लोकतान्त्रिक आन्दोलनमा गुल्मीका सवै कर्मचारीको नेतृत्व गरेका पन्थीलाई कुशल संगठकको रुपमा चित्रण गरिन्छ। जिल्ला अध्यक्ष पश्चात २०६७ सालमा नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा निर्वाचित भएका पन्थी २०७० मा भएको अधिवेशनवाट केन्द्रीय उपाध्यक्ष निर्वाचित भएका थिए।

सादा जिवन उच्च विचारलाई सधैं आफ्नो मुलमन्त्र ठान्ने पन्थीले दुईदशक भन्दा माथि जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेर धेरै प्रजातन्त्रवादीलाई सेवा प्रदान गरेका थिए । त्यस्तै अर्का प्रत्यासी हरी कुमार श्रेष्ठ पनि समाजसेवीका रुपमा परिचित व्यक्तित्व हुन् । नेपाल पत्रकार महासंघ गुल्मीको संस्थापक सभापति रहेका श्रेष्ठ गुल्मीका दर्जनौं सामाजिक संस्थाको नेतृत्व गर्दै नेपाली कांग्रेसको जुझारु नेताका रुपमा परिचित छन् । श्रेष्ठ निर्माण व्यवसायी संघ गुल्मीका महासचिव पनि हुन् । अर्का प्रत्यासी युवा नेता गगन केसी अहिलेसम्म नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका वडा नं. १३ का सभापति हुन् भने सोही वडामा रहेको घोर्ले माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुन् ।

आफ्नो निजी कामलाई भन्दा सामाजिक कामलाई अत्यन्तै महत्व दिने केसी उपल्लो तमघास सहयात्री समाजको अध्यक्षका साथै निर्माण व्यवसायी गुल्मीको सदस्य समेत रहेका छन् । त्यस्तै हालसम्म नाम सुनिएका मध्ये उपसभापतिका लागि पनि तीन जनाको नाम चर्चामा रहेको छ । चर्चामा रहेका मध्ये खुमबहादुर खत्री, चुराबहादुर केसी र सावित्रा भण्डारी रहेका छन् ।

सचिव पदका लागि रामजी पन्थी र गुणाखर पाण्डेको नाम चर्चामा रहेको छ । सह–सचिवका लागि भने अहिलेसम्म चेतनारायण पाण्डेको मात्रै नाम सुनिएको छ ।

सदरमुकाममा रहेको नगरपालिका भएका कारण सभापति पदमा कसले बाजी मार्ला भनि नगरका गाउँसहरमा चर्चा परिचर्चा चलिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.