गुल्मीको दजाकोटमा फैलिएको झाडापखाला नियन्त्रण बाहिर

रिपोर्ट नेपाल | 2019 Apr 26 | 05:48 pm 2870

गुल्मी, वैशाख १३ : गुल्मीको मुसिकोट नगरपालिका–४ को दजाकोटमा दुषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । गाउँका ८५ परिवारले प्रयोग गर्दै आएको पानी दुषित भएपछि आइतवारदेखि त्यहाँ झाडापखाला फैलिएको हो ।

पानी पिएपछि स्थानीयमा बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । झाडापखालाले बिहीबार बेलुकीसम्म ९८ जना बिरामी परेकोमा शुक्रबारसम्म उक्त संख्या बढेर १०४ पुगेको जिल्ला स्वस्थ्य गुल्मीका निमित्त प्रमुख श्रीकृष्ण भट्टराईले बताए । ४ जनाको अबस्था गम्भीर रहेको छ ।

झाडापखालाका विरामी बढेपछि कार्यालयले औषधीसहित थप चिकित्सक टोली प्रभावित क्षेत्रमा पठाएको छ । गम्भीर बिरामीमध्ये तीन जनाको गुल्मी अस्पताल, एक जनाको बुटवलस्थित गौतम बुद्ध अस्पताल र अन्यको गाँउमा स्थापना गरिएको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ ।

सोमबार ४ जनाबाट फैलिएको झाडा पखला महामारीको रुपमा फैलिएको हो ।  प्रभावित क्षेत्रमा शुक्रवारदेखि ट्याङ्करको पानी वितरण गर्न थालिएको छ । दुषित पानीका कारण विद्यार्थी बिरामी परेपछि स्थानीय पशुपति निमावि समेत बन्द गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.