वसन्त भुजेल
युरोपेली, अमेरिकीहरु नेपाललाई पूर्वको स्वीटजरल्याण्ड भन्छन् भन्ने कुरा मैले सानै देखि सुनेको थिए । हाम्रो देश सँग मिल्दो जुल्दो स्वीटरजरल्याण्ड कस्तो होला भन्ने खुल्दुली मलाई स्कुल पढ्दा देखि नै थियो । सौभाग्यले स्वीटरजरल्याण्ड मात्रै होइन धेरै पर्यटक जाने अर्को देश सिंगापुरमा पनि लामै समय घुम्ने अवसर मिल्यो । स्वीटजरल्याण्ड र सिंगापुर साँच्चिकै सुन्दर छन् । यी दुई वटा देशको नाम सुन्दा पनि धेरैको मन प्रफुल्लित हुन्छ, तर गुल्मीको तमघासमा हुर्केको मलाई भने न सिंगापुरले लोभ्याउन सक्यो, न स्वीटजरल्याण्डले । विश्वका धेरै मुलुक घुम्ने अवसर पाए तर तमघास जस्तो सबै सुन्दरताले भरिपूर्ण ठाउँ अन्त भेट्दै भेटिन । आफ्नो जन्मथलो भएर मात्रै होइन, गुल्मीको तमघास आएर जो रेसुंगा पुग्छ उसले पनि मैले जस्तै महशुस गर्ने गरेको सुनेको छु ।
जब नेपालमा आउछु , आफ्नो पुरानो घरले मलाई स्वागत गरिरहेको हुन्छ । गाडीबाट ओर्लना साथ हतार हतार आफ्नो घरतिर लम्किन्छु । लगेज समान झोला छोडेर हतार हतार वुवा आमाको पाउँमा साष्टाङ्ग दण्डवत गर्छु । अनि मलाई स्वर्ग भेटाएको अनुभुति हुन्छ । बाबा आमाको आँखामा खुसीको आँशु रसाएको देखे पछि मेरो आँखा त्यसै रसाउँछ । केही समय म आफै पनि स्तब्ध हुने गर्दछु । अनि म सम्हालिन्छु । अनि खाना खाने वा तातो चिया अथवा घरमा बनाएको लोकल रक्सी सँग सँगै साँझको सुरुवात हुन्छ ।
काठमाडौबाट आउदाको दुई दिनको थकान रातभरीमै मेटिन्छ । त्यस पछि सुरुवात हुन्छ, छरछिमेक, आफन्त तथा इष्टमित्र सँगको भेटघाट । कहिले आएको ? कहिले जाने ? यस्तै त होनि संक्षिप्त भेटघाटमा सोधिने प्रश्न । मलाई कहिले आएको ? भन्ने प्रश्नले जति खुशी बनाउँछ, कहिले जाने ? भन्ने प्रश्नले त्यतिनै खिन्न बनाउँछ । भर्खर विदेशबाट आएको छु, कहिले जाने भन्ने प्रश्न सुन्दा त मन खिन्न हुन्छ नै । जुँगाको रेखि बस्दा १७, १८ वर्षको उमेरमा विदेश लागियो । अब उमेर पनि ६ दशक पुग्न लाग्यो । हामी केटाकेटीमा सुन्ने गथ्र्यौ –‘६० बाट माथि लागेका मान्छेको के भरोसा ? कुनै पनि वेला जे पनि हुन सक्छ ।’ साँच्चै नै त्यतिबेला ६० कटेका मान्छेहरु थोरै देखिन्थे । ८४ पुजा गर्ने अवसर पाउने त यदाकदा मात्रै हुन्थे ।
तर अहिले त एक हिसावले भन्नु पर्दा हाम्रो पुस्ता भाग्यमानी हो । मेरै कुरा गरौं न, म ६० नाघि सकेँ, तर बुबाको न्यानो काख अझै पाइरहेको छु । कहिले काँही त यस्तो लाग्छ, म जस्तो भाग्यमानी को होला ? मेरो बुबा ८४ वर्षको उमेरमा पनि आफ्नो सबै काम आफै गर्नु हुन्छ । घरमा पुजा आजाका लागि निम्तो दिन १०२ वर्ष उमेर पुगेका कान्छा पण्डितको घरमा आफै हिँडेर पुग्नु हुन्छ । मेरो बुबा र कान्छा पण्डितको जस्तो संयोग विरलै पाइएला । मेरो बुबाबो न्वरान गराएर नाम राखिदिने सिद्ध पुरुष कान्छा पण्डिन नै हुँनुहँदो रहेछ । अहिले बुबा ८४ वर्ष, उहाँ १ सय २ वर्ष । फेरी १०२ वर्ष पुगेका सिद्ध पुरुष आफैले न्वारान गरेको मान्छेको ८४ पुजामा आफै सरिक हुन आउनु हुन्छ । दिन भरि ८४ को पुजामा सरिक भएर सबैलाई आर्शिवाद दिदैँ सबैसँग कुराकानी गर्दै रमाइलो मान्दै निकै रमाइला पुराना कुरा गर्नुभयो कान्छा पण्डितले । सिद्ध पुरुषलाई विदा गरियो । बेलुका भजन कीर्तनको कार्यक्रम पनि थियो । रातिको १० बजे भजन कीर्तन समापन भयो । ८४ पुजामा सघाउनेहरुको लागि भोलिपल्ट खानपानको तयारी भयो । फेरी टाढा बाट आउनुभएका पाहुनाहरुलाई विदा दिने कार्यक्रम भयो ।
अब डिट्ठा रुद्र सेन भुजेलको घर सुनसान हुन थाल्यो । तर, सरसफाइ भाडा माझेर राख्ने, लुगा धुने, सरसफाईको काम भने अझै पनि सकिएको थिएन । ८४ पुजाको जग्गेलाई समापन गर्न त्यहीँ होम खाडीमा रुद्रि लगाएर मात्र समापन गर्नुपर्ने रहेछ । दिन जुराएर मात्रै रुद्री गर्नु पर्ने रहेछ । गाईलाई खुवाउन फेरि रेसुङगाको गाई गोठ (गौशाला)मा ठुलो कार्य गर्नु पर्ने रहेछ । यि सबै काम गरेर मात्र ८४ वर्ष पूजनको कार्य सम्पन्न हुदो रहेछ ।
म केटाकेटी छँदा भरखर वजारको आकार लिएको तमघास यतिबेला विश्वका कुनै पहाडी सहर भन्दा कम छैन । रेसुङगाको पश्चिमी काखको समथर भूमिमा वसेको तमघासलाई दक्षिणको अर्जुनको डाँडाले पनि त्यतिकै पहरा दिइरहेको छ । पर्यटकीय दृष्टि कोणले पनि गुल्मी यतिकै प्रख्यात छ । साँच्चीकै स्वर्गको टुक्रा जस्तै छ, गुल्मीको तमघास ।
अथवा, उपमा दिदा तमघासलाई लिटिल स्वीटजरलेण्ड भनिए पनि रेसुंगा र अर्जुनको डाडामा पुगेपछि एक जना विदेशी साथीले मलाई भने– ‘विश्वभरि घुमे तर, तमघास जस्तो राम्रो ठाउँ कतै देखिन ।’ उनले त्यसै भनेका होइनन्, एक पटक गुल्मी आए पछि मान्छेले आफै महसुस गर्ने कुरा हो । साँझपख भुजेल खर्कको बेलुकाको बत्तिको झिलिमिलि साँच्चिकै मनमोहक हुन्छ । उपल्लो तमघास, धागीथुम गाउँ छापटोलाको बत्तीको झीलिमीलीले तिहारको दीपावलीको झल्को दिन्छ । तमघासमा सँधै दीपावली देख्न पाइन्छ । तमघासमा जन्मिएको मान्छेले भावनामा आएर यस्तो कुरा लेख्यो की भन्ने धेरैलाई लाग्न सक्छ । तर एक पटक तमघास आउनेहरुले पनि यो भन्दा बढी लेखेका छन् । यहाँ साँच्चैको त्यस्तै नै छ ।
बुबाको ८४ पुजाको शिलशिलामा हाम्रा विश्वनाथ गुरु सँग धेरै भलाकुसारि गर्ने मौका मैले यस पटक पाँए । समयको सदुपयोग गर्दै यहाँका छेउछेउका शक्ति पिठहरुको ज्ञान लिने मौका पनि पाइयो । जस्तै अर्जुनमा शक्ति देविको शक्ति पिठ र मन्दिर रहेछ । अहिले पनि भुजेल परिवारहरुले ढुङाको देवता स्थापना गरि चोखो फलफुल खाएर नौ दिनसम्म पुजा गर्छन । जोगिथुममा र धागिथुमलाई पनि साक्षात देबि भएको विश्वास गरिन्छ । जोगिथुम महाकाली देविको शक्ति पिठ मानिने रहेछ । शक्ति पिठको कुरा गर्दै जादा तमघासी देविको कुरा चल्यो तमघासीको अनौठो शक्तिशाली देवि रहिछन । पशु बलि दिने चलनले मलाई यी देवीको बारेमा बुझ्न झन उत्साहित बनायो ।
पाठी बली दिने चलन – हाम्रो पुरुषार्थ भन्ने तमघास किरण पुस्तकालय बाट प्रकाशित पुस्तकमा समेत तमघासी देविको चर्चा भएको रहेछ । किम्बदन्ति अनुसार पौराणिक कालमा अर्जुनको डाँडामा भुरे टाकुरे राजाको दरबार थियो । जसले तमघासबाट बिबाह गरेर तमघास बाहिर दुलही लैजान लागेको छ, उसले पहिलो रात दुलहीलाई भुरे राजाको ओछ्यानमा चढाउनै पर्ने रहेछ । यसै सिलसिलामा मरासिनी थरकी दुलहीको पालो आएछ । राजा कहाँ पहिलो रात विताउन जानु अघि नब दुलहिले एक शर्त राखिछन् । उनले भनिछन्–‘म भुरे राजाको दरबारमा जान भन्दा पहिला दुईटा कुण्डमा गाइको दूध भरेर जानेछु । यदि दूध रातो रगतमा परिणत भयो भने मेरो सतित्व हरण भएको हुनेछ र मैले आत्मदाह गर्नेछु । दुधको कुण्ड रगतमा परिणत भएछ । अनि ती कन्याले आत्मदाह गरेर देह त्याग गरिछन् । त्यही भएर अहिलेसम्म तमघासबाट बिबाह भएर बाहिर जाने दुलहीको घरको तर्फबाट तमघासीदेवीलाई पाठी बली दिने चलन छ । पाँच राते – यो प्रकरणपछि गुल्मेली जनताहरुले भुरे राजाको बिरोधमा लडाइ शुरु गरेछन् । पाँच रातमा राजालाई मार्न उनीहरु सफल भएछन् । उर्लेनी –पाँच रातसम्म लडाइँ भएकोले यो ठाउँलाई पाँच राते भनिएको रहेछ । राजा मारेको खुसियालीमा जुलुस उठेछ, गु्ल्मी भरीका मान्छे उर्लेर त्यहाँ आएछन् । त्यसैले यो ठाउँको नाम उर्लेनी रहन गएछ । गुल्मी तमघासको चार भञ्ज्याङ् भित्र अबदेखी धानखेती नगर्न भनेर सराप दिइएको हुनाले तमघासको भञ्ज्याङ् भित्र धान खेती गर्न छोडिएको रहेछ । अहिलेसम्म पनि तमघास उपत्यकाभित्र धान रोप्न छोडिएको किमबदन्ती छ ।
पाता पिट्ने–तमघासको खानिगाउमा धागिथुमबाट निकालिएको तामाको धाउ पगालेर इस्ट इन्डिया कम्पनी बेलायतलाइ बेच्ने चलन थियो । त्यही समयमा तामाको पाता पिटेर रेसुंगाको शिवालयको छानो बनाएको रहेछ । त्यसैले पाता पिटेर मन्दिर बनाएकोले अहिले पनि पाता पिट्ने भनेर त्यो ठाउँ चिनिन्छ ।
नुन मरे–तानसेनसम्म सडक नबन्दा तमघासका मान्छेहरु नुन लिन बुटवल जाने गर्दथे । घर छाडेको नौ दिनमा घर फर्कन नहुने चलन थियो, अहिले पनि यदाकदा यो चलन छ । एक पटक नुन लिन गएको टोली फर्केर घर आँउदा ९ दिन हुने भएछ, त्यसैले त्यो रात छल्न उनीहरु पहरोमा बास बसेछन् । तर त्यही रात ठूलो हिमपात भएकोले सबै ढाक्रेहरु मरेछन् । त्यसैले त्यस ठाउको नाम नुन मारे रहन गएछ ।
घोडागाडे–घोडा चडेर मात्र रेसुङा जाने चलन भएकाले रेसुङाको उकालोमा घोडाको मुटु फुटेर मरेपछी घोडालाइ त्यही ठाउमा गाडियो । अहिले पनि त्यो ठाउँलाइ घोडा गाडे भनेर चिनिन्छ ।
बाहुन पोले–रेसुङा जाने क्रममा एकजना ब्रहामण थरका मान्छे त्यही मरेछन् उनीलाइ त्यही पोलेर जलाएछ्न । त्यो ठाउलाइ बाहुन पोले भनेर चिनिन्छ ।
ढुङा गाडे–पहिला शिकारीहरुले आफ्नो चिनोको लागि ढुङा गाडेको हुनाले त्यो ठाउको नाम ढुङा गाडे भनिन्छ ।
भेडी राखे–निसि भुजिका भुजेलहरुले भेडा राखेको हुनाले त्यो ठाउँलाई भेडी राखे भनेर चिनिन्छ । निसि भुजिका भुजेलहरुले भेडा राखेको हुनाले अहिले सम्म भेडाको टाउको त्यस ठाउमा चढाउने चलन छ । भुजेलखर्कमा भुजेल बस्ने अर्जुनको डाँडाको काखा कुनै रुख थिएनन । भुजेलहरुले भेडा चराएकोले अर्जुनको डाडापछिसम्म नाङो थियो । अहिले भेडा पाल्न छोडेपछी रेसुङा अर्जुनमा जंगल हुन थालेको हो ।
रुद्र कुण्ड– रेसुङामा काम गर्ने क्रममा पानीको निकै समस्या भएपछी रुद्र बहादुर सेन भुजेलले इनार खन्न लगाउनु भएछ, इनार खनिसक्दा पनि पानीको कुनै संकेत देखिएन अनि भुजेल बुढाले दुःखमात्र दिएको भन्दै खेतालाहरु खाजा खान गएछ्न । खाजा खाएर आउदा चराले पानी खादै गरेको देखियो अनि पोखरी पनि भरिएर आयो । पोखरी बाहिर पनि पानी गएन । पोखरी पनि भरी भयो । त्यसपछि त्यस कुन्डको नाम रुद्रकुन्ड राखियो । अहिलेसम्म त्यही पानी शिबालयमा खाने गरिन्छ । रेसुङाको डाडामा पानी हुनु भनेको अनौठो नै हो ।
चौतारा गाइगोठ
जब रेसुङामा महायज्ञ लगाइयो । धेरै गाई दान दिइयो तर गाई बस्ने गोठको समस्या भएपछी रुद्रबहादुर सेन भुजेलले चौतारामा गाई गोठको ब्यबस्था गरिदिनु भयो । अहिले सबै गाई बस्ने गोठ बनेको छ । ती गाइहरुलाई रेखदेख गर्ने मान्छे गोठालोको समेत ब्यबस्था छ । रेसुङाको शिरमा भ्यु टावरबाट सारा हिमाल देख्न पाइन्छ । संसारकै टुप्पोमा पुगेको महसुस हुन्छ । पोखरीमा नुहाउँदा स्वर्गमा पुगेको जस्तो आनन्द आउँछ । उकालो चड्न बानी नभएका तीर्थयात्रीका लागि थकाइको महसुस हुनु स्वभाविकै हो । यसका लागि ठाउँ ठाउँमा विश्रामस्थल मात्रै होइन, होटेल रिसोर्टको समेत ब्यबस्था छ । हिडेर जान नसक्ने तिर्थालु भक्तजनहरुलाई ध्यानमा राखी मोटरबाटो अनि सवारी साधनको पनि ब्यबस्था गरिएको छ । भारतको मुख्य सहरबाट समेत तमघास आउने सवारी साधनको ब्यबस्था छ ।