– रमेश विक
आवासीय विद्यालयमा आफ्ना छोराछोरी पढाउन विद्यालय चहार्दै हिँड्ने प्रवृत्तिलाई गुल्मीको सदरमुकाम तमघासमा रहेको एउटा सामुदायिक विद्यालयले चुनौती दिएको छ । विद्यालयका शिक्षकको लगनशीलता हुने हो भने सरकारी विद्यालय पनि निजीभन्दा कम हुँदैनन् भन्ने कुराको ज्वलन्त उदाहरण बन्न सफल भएको छ– सिद्धबाबा माध्यमिक विद्यालय ।
टुनिखोलाको एउटा सानो भवनबाट स्थापना भएको सिद्धबाबा प्राथमिक विद्यालय आज गुल्मी जिल्लाकै सबभन्दा लोकप्रिय उच्च माध्यमिक विद्यालय बन्न सफल भएको छ । भारतीय सेनाको सेवा अवधि समाप्त गरेर रिटायर्ड लाइफ बिताउन जन्मभूमि आएका तिलबहादुर थापाले विद्यालयको कमाण्ड गर्ने इच्छा शक्ति नदेखाएको भए आज यो विद्यालयको शीर सायद यति उँचो हुने थिएन ।
संस्थापक प्रधानाध्यापक तिलबहादुरले विद्यालयमा लागु गरेको फौजी अनुशासन अभिभावकका लागि प्रसादका रूपमा स्थापित हुन पुग्यो । हुन पनि तिलबहादुर थापाको विद्यालयप्रतिको लगनशीलता र चिन्तन प्रशंसा गर्न लायकको हुन्थ्यो । शैक्षिक गुणस्तर बनाउने तिलबहादुर थापाको अभियानमा हालका प्राचार्य डाेरविक्रम श्रीसको सहयोग र समर्थन सम्झनायोग्य छन् । स्वर्गीय डिलबहादुर भलामी र झवि श्रेष्ठकाे याेगदान पनि उल्लेख्य छ यस्तै, धनबहादुर भलामी, रुद्रबहादुर भुजेल, रुकबहादुर थापा, पदम बढाथोकी, धनबहादुर श्रीस, रुपबहादुर भलामी, रुपसिंह काउछा, मोहन भलामी, श्रीप्रसाद भलामी, शेरबहादुर थापालगायतका स्थानीयवासी सचेतजनको समर्थन पनि उल्लेख्य रहेको छ ।
०४६ साल फागुन १४ गते स्थापना भएको सिद्धाबाबा विद्यालयलाई अगाडि बढाउनहेतु बैंकबाट ऋण प्राप्त गर्न त्यसबेला तमघास खानीगाउँका सबै जनताले बैंकधितोका लागि आफ्नो जग्गाधनी पुर्जा हस्तान्तरण गरेका थिए । एउटा शैक्षिक क्षेत्र स्थापनार्थ आफ्नो सम्पत्ति दिने जनता पनि कम महान् पात्र बनेनन् ।
त्यति मात्र नभई स्थानीय सरकार बनिसकेपछि वडाअध्यक्ष भरत भलामी पनि विद्यालयको शैक्षिक गुणस्तरको लागि अग्रसर भएका छन् । वडाअध्यक्ष भलामीको सक्रियतामा अहिले सिद्धबाबा उच्च माविमा हरेक कक्षामा प्रोजेक्टरको माध्यमबाट अध्यापन हुन्छ । नर्सरीदेखि कक्षा १२ सम्म १ हजार ३ सय ६१ विद्यार्थी रहेको विद्यालयमा प्रवेश पाउनको लागि कडा परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ ।
२०६० सालको एसएलसीमा यस विद्यालयले सर्वोत्कृट नतिजा ल्याउन सफल भएको थियो । भौतिक सुविधासम्पन्न सिद्धबाबा उच्च माविका सम्पूर्ण कक्षामा कम्प्युटरदेखि इन्टरनेट सुविधा र विज्ञान प्रयोगशाला अनि पुस्तकालयको समेत सुविधा प्राप्त छ । विद्यालयमा विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकी लगायत विषयमा अध्ययन–अध्यापन हुँदै आएको छ ।
