गुलाबकाे फूल बेचेर प्रकाशले कमाए १० लाख, १५ कट्ठा जग्गामा गुलाब खेती

रिपोर्ट नेपाल | 2019 Feb 14 | 02:50 pm 3866

 चितवन, फागुन २ : प्रेम गर्नेहरुका लागि विशेष दिन फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ । तर्क गर्नेहरु भन्छन्, ‘यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो ।’ तर, प्रेमका पक्षपातीहरू भन्छन्, ‘प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन ।’

प्रेमको बहानामा ‘भ्यालेन्टाइन डे’लाई मात्रै बुझ्नु वा मनाइनु तर्कसंगत छैन । एक हिसाबले अहिलेको पुस्तालाई त ठीकै लाग्ला । हुन त केही नेपालीहरू हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस भएको र त्यो कृष्ण अष्टमी भएको तर्कमा जोड दिन्छन् ।

पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ ।

बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन् । उनीहरुले उत्पादन गरेको गुलाबले बजारको माग केही हिस्सा मात्र पूरा गर्न सकेको छ ।

गुलाबको कम उत्पादन भइरहेपनि चितवनका एक युवा किसानले भने तीन महीनाको अवधिमा रु १० लाखको गुलाब बिक्री गरेका छन् । पन्ध्र कट्ठा जग्गामा गुलाब खेती गर्नुभएका भरतपुर महानगरपालिका–१८ गुन्जानगरका प्रकाश पन्तले तीन महीनाको अवधिमा रु १० लाखको फूल बिक्री गरेका हुन् ।

१० लाखको गुलाब बिक्री गर्दा खर्च कटाएर रु तीन लाख फाइदा भएको बताएका उनका फार्ममा यतिबेला ढकमक्क गुलाब फुलेका छन् ।“दैनिक एक हजार देखि एक हजार २०० स्टिक गुलाब उत्पादन हुने गरेको छ, पन्तले भने”, वैशाखमा लगाइएको बिरुवाले मङ्सिरबाट उत्पादन दिन थालेको हो ।”

बिरुवा रोपेको छ महीनाबाट चार वर्षसम्म उत्पादन लिन सकिने गुलाबको उत्पादन मङ्सिरमा थोरै भए पनि पुस र माघमा भने राम्रो उत्पादन भएको उनको भनाइ थियो । गुलाबको होलसेल मूल्य प्रति स्टिक रु १४-१५ पर्छ । “गुलाब उत्पादन गर्न खर्चिलो छ, पन्तले भने”, एउटा बिरुवाको रु १०० पर्छ ।” हल्याण्डबाट ल्याएको माउबोटलाई उहाँले ‘ग्राफ्टिङ’ गरेर आफ्नै फार्ममा बिरुवा तयार गरेका हुन् । यो याममा गुलाब प्रायः भारतबाट आयात हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.