काठमाडौं, असोज २८: म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा जाँदा हिमआँधीमा ज्यान गुमाएका ९ जनाको शवलाई वेस क्याम्पमा ल्याइएको छ ।
आइतबार बिहान सिम्रिक एयरको हेलिकोप्टरमार्फत उनीहरुलाई वेस क्याम्पसम्म ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रमुख डिएसपी वीरबहादुर बुढा मगरले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मृतक मध्ये ६ जनाको शवलाई वेस क्याम्पबाट पनि सुरक्षित स्थानमा सारिसकिएको छ ।
‘६ जनाको शवलाई गुर्जा गाउँमा ल्याइसकिएको छ’, मगरले भने, ‘अन्य शवलाई पनि ल्याउने क्रम जारी छ ।’ दिउँसो १२/१ बजेदेखि हावा, हुरी चल्ने भएकाले शवलाई नजिकै रहेको गुर्जा गाउँसम्म ल्याइएको प्रहरीले जनाएको छ ।
उनका अनुसार मृतक ८ जनाको शवलार्इ काठमाडौं ल्याइनेछ भने एक जना म्याग्दीकै भएकाले त्यहीँ जिम्मा लगाइनेछ । यसअघि काठमाडौंको ट्रेकिङ क्रयाम्प नेपाल नामक एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए ।
गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर, उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।
त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी थालेको थियो ।
पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ७ हजार १९३ मिटर अग्लो छ । गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका थिए ।