गुटबन्दीले कमजोर बन्दै कांग्रेस

रिपोर्ट नेपाल | 2019 May 23 | 07:34 am 1780

काठमाडाैं, जेठ ९: नेपाली कांग्रेसको केन्द्रीय तहमा नै मौलाएको गुटबन्दीले कार्यकर्तामा निराशा छाएको विभिन्न जिल्लाको स्थलगत भ्रमण गरेर फर्केका नेताहरूले बताएका छन् । उनीहरूले कांग्रेस कमजोर हुनुको मुख्य कारण पनि गुटबन्दी नै भएको निष्कर्ष निकालेका छन् ।

पार्टीको जागरण अभियानका क्रममा दुई साताजति डोटीका कार्यकर्तासँग घुलमिल भएका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं त्यहाँका आम कार्यकर्ताहरुको एउटै माग नेताहरु मिलून् भन्ने नै रहेको बताउनुहुन्छ । गुटबन्दी छाडेर सबै नेता एकढिक्का भए कम्युनिस्टसँग प्रतिस्पर्धा गर्न सकिने आम कार्यकर्ताको धारणा रहेको उनको निष्कर्ष छ ।

कांग्रेसकै अर्का नेता रामहरि खतिवडाको भनाइ पनि यस्तै छ । गुटबन्दीले कार्यकर्तामा चरम निराशा बढेको पाइएको बताउँदै उनी भन्छन्– मुहान धमिलो भएपछि धाराको टुकी मात्र सफा गरेर हुँदैन भनेजस्तै केन्द्रबाटै गुटवन्दीको अन्त्य गर्नुपर्छ ।

जागरण अभियानअन्तर्गत दुई साता भोजपुरका कार्यकर्तासँग अन्तरक्रिया गरी मंगलबार राजधानी फर्केका खतिवडाका अनुसार एक/एक नेताको एक/एक कार्यकर्ता गाउँ तहसम्म छन् । जागरण अभियानमा समेत केन्द्रीय नेताहरु एकले अर्कोको आलोचना गरेको सुनिन्छ ।

जागरणकै सिलसिलामा कैलालीमै रहेकी केन्द्रीय सदस्य कमला पन्त भन्छीन्– आम कार्यकर्ताको भावना महासमिति बैठकको निर्णय र निर्देशन केन्द्रीय समितिले अक्षरशः पालना गर्नुपर्छ भन्ने छ । आम कार्यकर्ताले पहिला केन्द्रमा मिल्न सुझाव दिएको बताउँदै उहाँ नेताहरु गुटउपगुटमा विभाजित हुँदा आफूलाई अप्ठेरो परेको गुनासो कार्यकर्ताले गरेका छन् ।

देशको नयाँ संरचनाअनुसार सांगठनिक संरचना नबन्दा पार्टीे संगठन कमजोर र लथालिङ्ग भएको पाइएको पन्तको निष्कर्ष छ ।

संविधानअनुसार संघीय ढाँचामा विधान संशोधन गरे पनि कांग्रेसले सांगठनिक संरचना बनाउन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको मात्र हैन यस्तो गुट गाउँ तहसम्म फैलिएको छ । यसको असर भ्रातृ संघसंगठनमा परेको देखिन्छ । शीर्ष नेताहरुको गुटगत भागवण्डा नमिलेकै कारण नेपाल तरुण दलको कार्यसमितिले पूर्णता पाएको छैन भने नेविसंघको महाधिवेशन हुन सकेको छैन ।

तरुण दलको महाधिवेशन नभएकाले भागवण्डा गरी मनोनित चार नेताको भरमा छोडिएको छ । यस्तै सबैभन्दा माथिल्लो निकाय महासमितिको निर्णय र निर्देशनलाई समेत केन्द्रीय समितिले बेवास्ता गरेकोप्रति पनि कार्यकर्ताहरु आक्रोशित भएका छन् । मुख्य गरी केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि र समानुपातिक समावेशीबाट एक व्यक्ति एकपटकभन्दा बढी सहभागी हुन नपाउने व्यवस्था हटाएकोप्रति आमकार्यकर्ताले केन्द्रीय नेताहरुको आलोचना गर्दै आएका छन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.