काठमाडौं, जेठ ७: गीतकार भोजराज पाण्डेयको अर्को आधुनिक गीत (तिमि खुशी हुन्छ्यौ भने) बजारमा आएको छ । नेपाल प्रहरीमा इन्पेक्टरको रुपमा कार्यरत भोजराज पाण्डेयले व्यवसायिक कार्य व्यस्तताका बावजुद पनि आफूलाई सांगितिक क्षेत्रमा पनि निरन्तर सकृय बनाउदै लगेका छन् ।
महानगरीय प्रहरी वृत्त सिंहदरवारमा कार्यरत उनले दुई हप्ता अगाडि मात्र नेपाल प्रहरीलाई गीतको माध्यम द्धारा चिनाउने अभिप्रायले (आँधी र हुरी प्रचण्ड गर्मी भन्दैन क्यै गरी, कर्तब्य प्रति निर्भिक र अटल नेपाल प्रहरी) भन्ने समुदाय प्रहरी साझेदारीको भावना समेत समेटिएको सेवा भावले ओतप्रोत प्रहरी गीत बजारमा ल्याएका थिए । जुन गीतको म्युजिक भिडियो प्रहरी प्रधान कार्यालयले बनाई सांगितिक बजारमा ल्याउन तयारी अवस्थामा रहेको छ ।
अहिले अडियोको रुपमा बजारमा आएको (तिमि खुशी हुन्छ्यौ भने यो जीवन नी लेउ, दुखी भई झरेका आंशु मलाई पिउन देउ) भन्ने आधुनिक गीत अत्यन्त मार्मिक शब्दहरुको संयोजनमा तयार भएको छ ।
अहिलेका चर्चित युवा गायक बिक्रम राईको स्वर र संगितमा सजिएको उक्त गीतलाई व्यस्त कोरियोग्राफर प्रमोद परियारले एरेन्ज गरेका छन् । उक्त गीतमा कोरिएका शब्दहरु नेपाली मौलिकपनमा छरिएर रहेका शब्दरुले धेरैजसो स्थान पाएका छन् ।
माया प्रेमका भावहरु समेटिएको उक्त गीतमा गीतकारले आफूले माया गरेको प्रेमिकालाई आफूले नभई अरुले जिन्दगीको आधार बनाउँदा प्रेमीको मनमा के कस्ता भावहरु जन्मन्छन भन्ने कुरा गीतमा प्रस्तुत गरेका छन ।
प्राय जसो मौलिक शब्दहरु राखेर गीत लेख्न रुचाउने गीतकार भोजराज पाण्डेयको यस गीतमा गायक तथा संगीतकार बिक्रम राईले पनि प्रसस्त मेहनत गरेका छन् । अहिले अडियोको रुपमा मात्र नेपाली सांगितिक बजारमा आएको यो गीतले प्रत्येक नेपालीको मन छुने कुरामा कुनै शंका छैन् ।