कास्की, कात्तिक २८ः पछिल्लो समय मौसम खुलेसँगै घुम्न जानेको सङ्ख्या बढ्न थालेको छ । सहर बजारभन्दा पनि गाउँसम्म पुगेर ग्रामीण परिवेशमा रमाउने पर्यटक बढ्दो छ ।
कास्कीका मुख्य पर्यटकीय गाउँमा यतिखेर पाहुनाको घुइँचो लागेको छ । दसैँतिहारको बिदा सकिएलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङ, घलेगाउँलगायतका पर्यटकीय स्थलमा चहलपहल बढ्न थालेको हो ।
पोखराको पर्यटन भने सोचेजस्तो नभएको पर्यटन व्यवसायी बताउँछन् । होटल सङ्घ, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले २० देखि ३० प्रतिशतसम्म अकुपेन्सी रहेको बताउँदै आएका छन् । गत महिना पोखरामा खेलकुद प्रतियोगिता हुँदा निकै राम्रो अकुपेन्सी भए पनि अहिले ठिकै रहेको उनको भनाइ छ ।
घान्द्रुकका स्थानीय व्यवसायी अमृत गुरुङले घान्द्रुक पाहुनाले भरिभराउ रहेको जानकारी दिएका छन् । उनका अनुसार शुक्रबार र शनिबार घान्द्रुकका होटल र होमस्टे भरिभराउ हुन्छन् । दुई हजार पाहुना बास बस्ने र तीन सय पाहुना घुमेर फर्कन परेका छन् । घान्द्रुकमा ५० को हाराहारीमा होटल र २० वटा होमस्टे रहेको त्यहाँको पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।
घान्द्रुकको मात्र होइन कास्कीको अर्को पर्यटकीय ठाउँ सिक्लेसमा पनि अहिले पर्यटकको ओइरो लागेको छ । मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले गाउँ पाहुनाले भरिएको बताए। होटल र होमस्टेमा गरेर दैनिक एक हजार पाँच सयसम्म पाहुना राख्न सकिने र यतिबेला सबै भरिभराउ रहेको उनले जानकारी दिए । उनका अनुसार सिक्लेस नजिकैको गाउँ ताङतिङमा पनि उत्तिकै सङ्ख्यामा पर्यटक पुग्ने गरेको गुरुङले बताए । गाेरखापत्र दैनिकबाट