गाउँपालिका अध्यक्षलाई गाडी किन्‍ने पैसाले एम्बुलेन्स

रिपोर्ट नेपाल | 2018 Dec 16 | 09:14 am 2312

गाडी मोहका कारण जनप्रतिनिधिहरु आलोचित बनिरहेका बेा गुल्मीको मदाने गाउँपालिकाले भने गाडी किन्‍ने पैसाले एम्बुलेन्स खरिद गरेको छ। जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो कार्यले स्थानीयबासी खुसी मात्र भएका छैनन्, जनप्रतिनिधिलार्इ सम्मानका साथ हेर्न थालेका छन्।

मदाने गाउँपालिकाले २२ लाख ९४ हजार रुपैयाँ लागतमा दुर्इवटा एम्बुलेन्स खरिद गरेको हो। सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीका अनुसार एम्बुलेन्स सञ्चालन भएपछि सबैभन्दा टाढाको अग्लुङसहित बाँझकटेरी, सिर्सेनी, मलायगिरि, म्यालपोखरी र भनभने क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् ।

सात वडा रहेको सो गाउँपालिकामा यसअघि एउटा मात्रै एम्बुलेन्स सञ्चालनमा रहेको थियो । पुर्कोटदह स्वास्थ्यचौकीबाहेक अन्य स्थानमा एम्बुलेन्स नहुँदा बिरामीले महँगो भाडामा गाडी रिजर्भ गर्नुपर्ने अवस्था रहेको थियो ।

‘अहिले गाउँपालिकाको सुविधाका लागि गाडीभन्दा नागरिकलाई एम्बुलेन्स चाहिएको छ,’ गाउँपालिका प्रमुख दानबहादुर केसीले भने, ‘हामीले जनताको स्वास्थ्य सेवालाई प्राथमिकता दिएका छौं ।’ प्रत्येक वडामा मूल्य निर्धारण गरेर एम्बुलेन्स सेवा गाउँगाउँमा लैजाने केसीले बताए ।

मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसीका अनुसार गाउँपालिकालाई गाडीभन्दा एम्बुलेन्स अनिवार्य भएकाले एम्बुलेन्स खरिद गरिएको बताए । ‘अहिले गाउँपालिकाको सुविधाका लागि गाडीभन्दा नागरिकलाई एम्बुलेन्स चाहिएको छ,’ गाउँपालिका प्रमुख केसीले भने, ‘हामी जनताको स्वास्थ्य सेवाप्रति गम्भीर छौं, त्यसैले एम्बुलेन्स खरिद गरेका हौं ।’

सो गाउँपालिकाले प्रत्येक वडामा मूल्य निर्धारण गरेर एम्बुलेन्स सेवा गाउँगाउँमा लैजाने योजना बनाएको छ । सो गाउँपालिकाले आवश्यक परेको बेलामा मात्रै भाडामा गाडी मगाउने गरेको छ ।
इश्मा गाउँपालिकाले पनि एम्बुलेन्स खरिद गरेर सञ्चालन गरिरहेको छ । इश्मा गाउँपालिकाको १ र २ वडाका जनतालाई लक्षित गरेर एम्बुलेन्स सेवा सुरु गरिएको सो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । सो गाउँपालिकाको गत वर्षको ८ लाख र यो वर्षको ३ लाख गरी ११ लाख रुपैयाँको लागतमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको बस्नेतले बताए । यो खबर आजको राजधानी दैनिकमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.