ओखलढुङ्गा, साउन १२: ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको हाे । ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचारका लागि सहयोग गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।
साहाराविहीन भएकाहरुलाई समेट्ने लक्ष्यअनुरुप एकल महिला लक्षित कार्यक्रम ल्याएको अधिकारीको भनाइ छ । वर्षमा पाँच हजार मात्रै हामीले दिँदा पनि सामान्य रोगको उपचार गर्न पुग्ने रहेछ । एकल महिलालाई मात्रै होइन जटिल प्रकृतिका रोग लागेकाहरुलाई थप सहयोग गर्ने पनि हाम्रो नीति छ ।
अध्यक्ष अधिकारीका अनुसार एकल महिलाले फेरि विवाह गरेमा उनले उपचार खर्च पाउने छैनन् । सुनकोशीले गत वर्षदेखि नै ज्येष्ठ नागरिक, दलित र अपाङ्गता भएका व्यक्तिलाई लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
एकल महिलाका क्षेत्रमा क्रियाशील स्थानीय अगुवा मुना श्रेष्ठले स्थानीय सरकारको यो नीतिले एकल महिलालाई समाजमा स्थापित गराउन मद्दत पुग्ने बताए ।
एकल महिलालाई उपचार खर्च दिने नीति लिएसँगै वडामार्फत एकल महिलाको तथ्याङ्क र अवस्थाका बारेमा विवरण सङ्कलनको काम थालिएको सुनकोशी गाउँपालिकाको कार्यालय मूलखर्कले जनाएको छ ।