सुर्खेत, जेठ १८ः २०७४ सालको निर्वाचनबाट गठन भएका धेरै स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण गरेका छन् । तीमध्ये पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको भवन विशेष प्रकृतिको र मौलिक छ । वीरेन्द्रनगरदेखि ७० किलोमिटर पूर्वमा रहेको सिम्ता गाउँपालिकाको प्रशासनिक भवन पालिकाको नाम सिम्ता शब्दकै प्रारूपमा निर्माण गरिएको छ तर भवनको नाम सतहबाट देखिँदैन । केही उचाइको स्थान वा हवाई अथवा ड्रोनमार्फत खिचिएका चित्रमा आकर्षक देखिन्छ ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष कविन्द्रकुमार केसीको कार्यकालमा आर्थिक वर्ष २०७६/७७ मा निर्माण सुरु भई करिब एक वर्षको अवधिमै सो भवन निर्माण भएको हो । २०७८ असोजदेखि पालिका कार्यालय सोही भवनबाट सञ्चालनमा आएको निवर्तमान अध्यक्ष केसीले बताए । भवनमा सूचना प्रविधि कक्ष, बैठक हलसहित ३३ वटा कोठा छन् । सबै पूर्वाधार अपाङ्गतामैत्री छ । भवनको पर्खालमा पालिकाका नौवटै वडाको चित्र र महत्वपूर्ण सूचना दिइएको छ ।
२०७४ सालमा निर्वाचित भएर आएपछि पालिकाले स्वास्थ्य चौकीको भवनबाट काम सञ्चालन गरेको थियो । शिक्षालगायत अन्य शाखा भने भाडामा सञ्चालन गरिएको स्मरण गर्दै निवर्तमान अध्यक्ष केसीले आफ्नै भवनबाट सेवा प्रवाह गर्नुपर्छ भन्ने उद्देश्य राखेपछि स्रोतको खोजी गरी भवन निर्माण गरिएको जानकारी दिए । पछि समपूरक बजेटबाट भवन निर्माण गरिएको हो । दुई करोड ८५ लाख १९ हजार (भ्याटबाहेक)को लागतमा लक्ष्मण कन्स्ट्रक्सन सुर्खेतले सो भवन निर्माण गरेको हो ।
करिब चार वर्षसम्म स्वास्थ्य चौकीको भवनबाट सेवा सञ्चालन गरेको र पछि पालिका केन्द्रको टुङ्गो सो गाउँपालिका वडा नं. ६ राकममा लागेपछि भवन निर्माणको थालनी गरिएको थियो । करिब सय रोपनी क्षेत्रफलमा पालिका भवन छ ।
सिम्ता शब्दको आकारमा भवनको डिजाइन गराउन करिब चार महिना लागेको निवर्तमान अध्यक्ष केसीले बताए । सुर्खेतस्थित मुनलाइट इन्जिनियरिङ कन्सल्टेन्सीले केसीको योजनाअनुसार भवनको डिजाइन बनाएको हो ।
सिम्ता शब्दको भवनमा विभिन्न चार/पाँचवटा डिजाइन तयार गरिएको थियो । ढलान भवन, छाने भवनलगायतका डिजाइनको प्रयास गरिए पनि अन्त्यमा अहिले निर्माण गरिएको डिजाइन तय गरिएको निवर्तमान अध्यक्ष केसीले बताए।
पालिकाको भवन अन्य भवनजस्तै नबनाएर शब्द शैलीको किन बनाउनुभएको हो ? भन्ने प्रश्नमा केसीले पहिलो कार्यकाल निर्माण गर्दा पछि आउने सबैले सम्झना गर्ने हुँदा यस्तो बनाएको जनाए। उनले भने, “केही नयाँ गरौँ, पछि आउनेले पनि यस्तो भवन फलानोले बनाएको हो भनेर सम्झना गरिराखुन् ।”
सिम्ता गाउँपालिकामा नौवटा वडा छन् । सबै वडामा अहिले सडक पहुँच पुगेको छ । १३ वटा स्वास्थ्य केन्द्र छन् । विद्यालय थपिएका छन् । आफू निर्वाचित हुनुअघि ५९२ घरमा विद्युत् पुगेकोमा अहिले पाँच हजार ५९५ घरमा विद्युत् पुगेको दाबी उनले गरे । आफ्नो पाँच वर्षे कार्यकालमा केही राम्रो गर्न सकेकोमा उनी सन्तुष्ट छन् । विशेषगरी पालिकाको भवन डिजाइनले सबै क्षेत्रबाट राम्रो प्रतिक्रिया पाएको र केही नयाँ गर्न उत्प्रेरणा मिलेको निवर्तमान अध्यक्ष केसीको भनाइ छ ।
सिम्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ऐनबहादुर चन्दले देशकै नमुनायोग्य भवनबाट सेवा प्रवाह गर्न पाउनुले आफूलाई गौरव लागेको बताए । अघिल्लो अध्यक्षले नमुनायोग्य काम गरेकोमा धन्यवाद दिँदै उहाँले अब पालिकाको थप भवनभन्दा गरिब जनताका घर बनाउने आफ्नो लक्ष्य रहेको उल्लेख गरे। गाेरखापत्र अनलाइनबाट