गहुँ छर्ने सिजनमै गुणस्तरीय बीउ अभाव

रिपोर्ट नेपाल | 2020 Nov 12 | 08:46 am 1957

रुकुम पश्चिम, कात्तिक २७: गहुँ छर्ने सिजनमै जिल्लामा गुणस्तरीय बीउ अभाव भएको छ। ग्रामिण भेगका अधिकांश कृषकहरूले यसअघि नै केहि जोहो गरेर गहुँ छरिसकेका छन्, तर अधिकांश किसानले अझैसम्म बीउ पाएका छैनन्‌।

गुणस्तरीय बीउ नहुँदा खानका लागि राखिएको गहुँ नै बीउको रुपमा प्रयोग गर्न कृषकहरू बाध्य भएका छन्‌। गहुँको बीउका लागी स्थानिय सरकारसँग माग गर्दा पनि नपाएको उनीहरूको गुनासो छ।

जिल्लाभित्रै गहुँको प्रजनन तथा मूल बीउ उत्पादन कम मात्रामा हुने भएकाले अहिले करिव ७० प्रतिशत कृषकहरूले पुरानै गहुँको बीउ छरिरहेका छन्‌। वर्षेनी पुरानै बीउ खेतबारीमा छर्दा उत्पादनमा पनि ह्रास हुँदै गएको कृषकहरू बताउँछन्‌।

गहुँको बीउ खरिदका लागी मात्रै वर्षेनी लाखौँ रकम बाहिरिने गरेको कृषी विकास कार्यालयले जनाएको छ। जिल्ला बाहिरका विभिन्न कृषि फर्म, एग्रोभेट र बीउ उत्पादन कृषक समूहबाट बीउ ल्याउनुपर्ने बाध्यता कायमै रहेको छ। यस वर्ष पनि २५ क्वीन्टल गहुँका बीउ जिल्लामा भित्रिएको कार्यालय प्रमुख मीनबहादुर केसीले बताए।

हरेक वर्ष कृषकहरूले बीउको अभाव झेल्नुपर्ने समस्या समाधान गर्न यस वर्षदेखि बिजवृद्धि कार्यक्रम सञ्चालन गर्न थालिएको केसीले जानकारी दिए। हरेक वर्ष जिल्लामा गहुँको बीउ अभाव हुने समस्या हल गर्न स्थानीय तहले नै जोड दिनुपर्ने उनको भनाई छ।

स्थानीय स्तरमै उत्पादन गर्नसके बीउ गुणस्तरीय पनि हुने भएकाले गाउँमै बीउ उत्पादन गर्नतर्फ पालिकाहरूले किसानलाई प्रोत्साहन गर्नुपर्ने कार्यालयका निमित्त प्रमुख केसीको भनाई छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.