गर्भवतीलाई स्वास्थ्य संस्था पुर्‍याउने स्वयंसेविकालाई भत्ता

रिपोर्ट नेपाल | 2018 Oct 12 | 05:14 pm 2183

ओखलढुङ्गा,  असोज २६ : ओखलढुङ्गाका स्थानीय तहले स्वास्थ्य सेवा प्रभावकारी बनाउन विभिन्न विधि अपनाएका छन् । सुनकोशी गाउँपालिकाले स्वास्थ्यसंस्थामा बच्चा जन्माउनेलाई नगद एक हजार दिन थालेको छ भने सोही गाउँपालिकाको ९ नं वडा कार्यालयले शिशुलाई ब्लाङ्केट दिन थालेको छ । चम्पादेवीका केही वडामा आमालाई फरिया दिन थालिएको छ ।

मोलुङ गाउँपालिकामा भने स्वास्थ्य संस्थामा गर्भवती पुर्‍याउने स्वयंसेविकालाई भत्ता दिन थालिएको छ । गाउँपालिकाको वडा नं १ कुन्तादेवी र वडा नं ८ राँगादिपमा यो अभियान थालिएको हो । राँगादिपका स्वयंसेविकाले प्रतिगर्भवती बराबर रु ५०० र कुन्तादेवीकाले रु २५० पाउने भएका छन् । सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाएर मातृशिशुको मृत्यु हुन नदिन स्वयंसेविका परिचालन गरिएको मोलुङ–८ का वडा अध्यक्ष हरिकुमार राईले बताए ।

“गाउँमा स्वयंसेविकाको भूमिका निकै प्रभावकारी छ । एक जना गर्भवती स्वास्थ्य संस्थामा ल्याएबापत उनहरुलाई प्रोत्साहनस्वरुप हामी रु ५०० दिन्छौँ ।” प्रसूतिगृहमा मात्रै सुत्केरी गराउने दर बढाउने उद्देश्यले स्वयंसेविका भत्ता अभियान थालेको कुन्तादेवीका वडा अध्यक्ष प्रदीप बानियाँको भनाइ छ । स्वास्थ्य संस्था प्रमुख र दुई जना अनमीलाई गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य परीक्षण तथा पुनःजाचका लागि प्रत्येक महीना रु १०० को रिचार्ज कार्ड सुविधा दिइने उनले बताए ।

राँगादिप र कुन्तादेवीका प्रसूति गृहमा प्रतिक्षालय व्यवस्था गरी एक जना कुरुवासहित गर्भवति र सुत्केरीका लागि खाना र बासकोसमेत व्यवस्था गरिएको छ । यदि गाउँको स्वास्थ्य संस्थामा उपचार सम्भव नभएर अन्यन्त्र पठाउनुपर्दा वडा कार्यालयले नै सबै सवारी खर्च व्यहोर्ने निर्णय गरेको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिए। जिल्ला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोगसँगै आवश्यक औषधि, औजार, कर्मचारी व्यवस्थापन र तालीम लगायतका सहयोग उपलब्ध गराउने भएको छ ।

जिल्ला स्वास्थ्य प्रमुख सुवेदीले भए, “स्थानीय सरकारलाई आवश्यक सुझाव दिने र सहकार्य गर्ने हाम्रो नीति छ । दुर्गम जिल्ला ओखलढुङ्गाको स्वास्थ्य सेवा प्रभावकारी बनाउन सक्नु अहिलेको पहिलो आवश्यकता हो ।” सुरक्षित मातृत्व, पोषण र स्वास्थ्य सचेतनाका कार्यक्रमलाई प्राथमिकता दिइएकोे सुवेदीले बताए ।

कुन्तादेवी र राँगादिपमा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । नियमितरुपमा स्वास्थ्यकर्मीले विद्यालयमा गएर कक्षा लिनेछन् । प्रत्येक वडामा गर्भवती महिलालाई प्रसूतिका लागि स्वास्थ्य संस्थामा पठाउन समितिसमेत गठन गरिएको छ ।

घरैमा सुत्केरी गराउनेक्रम रोक्ने विषयमा जनप्रतिनिधि, व्यवस्थापन समिति, स्वयंसेविका आमा समूह, महिला सञ्जाल र स्वास्थ्यकर्मीको छलफलबाट आएको सुझावका आधारमा यो निर्णय गरेर लागू गरिएको गाउँपालिका अध्यक्ष मणिराज राईले बताए । यो अभियान पालिकाका अन्य वडामा पनि सञ्चालन हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.