गर्जुरामा नगरप्रमुख पन्थीद्वारा वृक्षारोपण

| 2022 Jun 28 | 01:01 pm 2573

गुल्मी, असार १४ः “वृक्षारोपण गरौं माटो पानी बचाऔं” भन्ने नाराका साथ गुल्मी जिल्लाको रेसुङ्गा सामुदायिक वनमा पर्ने गर्जुरामा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा सरोकारवालाहरुको उपस्थितिमा गर्जुरामा वृक्षारोपण गरिएको हो ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सुगन्ध कोकिलाको विरुवा रोप्दै वन संरक्षरणमा डिभिजन वन कार्यालयको मात्र जिम्मेवारी नभएर आम नागरिकको जिम्मेवारी भएको बताए । उनले वनलाई आय–आर्जन, रोजगारसँग जोड्न सकिने भएकाले भविष्यमा जीवनस्तर समेत बदल्न सकिने बताए ।

पर्यटन, कृषि, वन, स्वास्थ्य, शिक्षा लगायतलाई समुन्नतीका आधारहरु भएको भन्दै नगर प्रमुख पन्थीले भने, “सबै स्थानीय तह एकताबद्ध भएर सकारात्मक सोंचका साथ काममा लागिएमा सजिलै गुल्मीलाई समुन्न जिल्ला बनाउनेछौं । त्यस्तै, स्वदेशमा रोजगारका अवसरहरु सिर्जना गरेर विदेश पलायन भएका युवाहरुलाई नेपाल फर्काउनेतर्फ सबैले गम्भीर रुपमा सोच्नुपर्ने बेला आएको छ ।”

त्यस्तै, गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले वनक्षेत्रलाई हरियाली बनाउन वृक्षारोपणसँगै यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । उनले वनलाई समृद्धि र समन्नुतीसँग जोड्नको लागि उचित व्यवस्थापनमा लाग्न आवश्यक रहेको उल्लेख गरे ।

सुगन्ध कोकिला, टिमुर, कल्कि, धुपि, पारिजात लगायतका झण्डै १ सय भन्दा बढि विरुवा रोपिएको डिभिजन वन कार्यालय गुल्मीका डिभिजनल वन अधिकृत प्रभात सापकोटाले जानकारी दिए । उनले वनमा वृक्षारोपणसँगै संरक्षणमा पनि सबैको ध्यान पुग्न जरुरी रहेको बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.