पोखरा, फागुन १३ : पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा सोमबार एकाएक झडप भएको छ । आक्रोशित विद्यार्थीहरूले फेरि ताला लगाउन खोजेपछि स्थिति तनावग्रस्त बनेको हो ।
कलेज प्रशासनले विद्यार्थीबाट अनधिृकत रूपमा असुलेको लाखौँ रुपैयाँ फिर्ता पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका विद्यार्थीले लगाएको ताला प्रहरीले खोलेपछि अस्पताल परिसरमा नाराबाजी गरेका हुन् । प्रहरीले जबर्जस्ती रूपमा ताला खोलेको उनीहरूको आरोप छ ।
बिहान आन्दोलनकारी विद्यार्थी नभएको समय पारेर प्रहरीले ताला फोरेको थियो । विद्यार्थीले आफूहरूले लगाएको ताला अनुमति बेगर तोडेको भन्दै फेरि ताला लगाउन जाने क्रममा प्रहरीले ज्यादती गर्दै छात्रा विद्यार्थीमाथि पुरुष प्रहरी प्रयोग गरेर हातपात गरेको आरोप लगाएका छन् ।
नर्सिङकी एक विद्यार्थी रविना मिश्र ईमरजेन्सीमा भर्ना भएकी छन् । प्रहरीले छातीमा हानेको उनले बताइन् । तर, प्रहरीले भने विद्यार्थीहरूलाई केही नगरेको दाबी गरेको छ ।

करिब २५ दिन लामो विरोधको कार्यक्रम गरिरहेका विद्यार्थीले अस्पताल प्रशासनले जबरजस्ती प्रहरी प्रयोग गरेर विद्यार्थीमाथि ज्यादती गरेको आरोप लगाएका छन् । कलेज प्रशासनले सरकारको अनुगमन टोली केही दिनमा अस्पताल अनुगमनमा आउन लागेको र त्यसको लागि अस्पतालमा बिरामीको सङ्ख्या देखाउनुपर्ने भएकाले जबरजस्ती आजै अस्पताल सञ्चालन गनुपर्ने भएकाले प्रहरी लगाएर हडतालमा हस्पक्षेप गरेको आरोप विद्यार्थीहरूले लगाएका छन् ।
अस्पताल परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती छ । कलेज प्रशासनले माग सुनुवाई नगरेको भन्दै विद्यार्थीहरुले कलेजको ओपिडी, ईसिएचएस, बिलिङ काउण्टर बन्द गरिदिएका थिए । तर, प्रहरीले सोमबार बिहान विद्यार्थीहरु आईनपुग्दै ताला फुटाएको छ ।
उनीहरुले बिलिङ काउण्टर पुनः बन्द गरिदिएका छन् । आक्रोशित विद्यार्थीको भिडले अस्पतालभित्रै नाराबाजी गर्दै कलेज प्रिन्सिपल र मेडिकल सुपरिटेन्डेन्टको राजीनामा समेत माग गरेका छन् ।
विद्यार्थीहरुको आन्दोलनको आज २६ औँ दिन पुगेको छ । यस्तै, रिले अनसनको १६ औँ दिन पुगेको छ । कलेज प्रशासनले माग पुरा नगरेसम्म आन्दोलन फिर्ता नलिने उनीहरुको भनाइ छ । विभिन्न चार बुँदे मागसहित आन्दोलनरत ८३ विद्यार्थीहरुले एमबिबिएसको परिक्षा समेत दिएनन् ।