काठमाडौँ २१ चैत / गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका हुन् । संविधानको धारा १६९ को उपधारा १ बमोजिम मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् । विश्वासको मत लिने दिन सकिँदै लाग्दा आवश्यक मत जुटाउन नसक्ने प्रष्ट भएपछि उनले राजीनामा दिएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २१ मा सत्ता गठबन्धनमा परिवर्तन गरेपछि फागुन २२ मै मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीहरूलाई बर्खास्त गरिदिएका थिए।
फागुन २३ मै माओवादी केन्द्रको संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। जसकारण मुख्यमन्त्री पाण्डेले बिहीबार (फागुन २२) सम्म विश्वासको मत लिइसक्नुपर्ने थियो। तर त्यसको सम्भावना देखिएको थिएन।