गणतन्त्रमाथि धावा बोल्नेलाई सरकारले नछाड्नेः प्रम ओली

रिपोर्ट नेपाल | 2019 Sep 18 | 01:49 pm 1725

काठमाडौं, असोज १: प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने जो कोहीलाई सरकारले नछाड्ने बताएका छन् ।प्रम ओलीले यस्तो क्रियाकलाप गर्न थालियो भने सरकार एक्सनमा जाने चेतावनी दिएका छन् ।

बुधबार सिंहदरबारको पुरानो संसद् भवन अगाडि रहेको पुतली बगैंचामा संघीय संसद् भवनको शिलान्याय गर्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका छन् । उनले सहिद र थुप्रै योद्धाहरुको रगत पसिनाबाट प्राप्त गणतन्त्रविरुद्ध आवाज उठ्न थालिएकाले अब सरकार चुप लागेर नबस्ने बताएका हुन् ।

पछिल्लो समय केही धमिलो पानीमा माछा मार्ने तत्वले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध आवाज उठाउने कोसिस गरिरहेका छन्, गणतन्त्रमाथि धावा बोल्न थालियो भने सरकार चुप लागेर नबसी एक्सनमा जाने प्रम ओलीको चेतावनी थियो ।

लोकतन्त्रमा शान्तिपूर्ण तबरले विरोध गर्ने अधिकार सुरक्षित रहेको बताउँदै प्रम ओलीले विरोधको तरिका सही हुनुपर्ने बताएका थिए ।

भूमिगत नेत्रविक्रम चन्द समूहको गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्रीले अब मुलुकमा हिंसा जरुरी नभएको धारणा दोहोर्‍याए । हिंसा जरुरी छैन, केका लागि हिंसा ? उनको भनाइ थियो, गणतन्त्र आइसक्यो, संविधान पनि प्राप्त भइसक्यो । सरकारले हिंसालाई कुनै पनि हालतमा नियन्त्रण गर्ने बताउँदै जनतालाई शान्ति सुरक्षा र अमन चयन प्रदान गर्दा कोही रोइकराइ गर्न आवश्यक नरहेको ओलीको भनाई रहेको थियो ।

सरकार भ्रष्टाचार नियन्त्रणका लागि अहोरात्र प्राथमिकतासाथ लागी परेको बताउँदै भ्रष्टाचारीहरु धमाधम पक्राउ परिरहेको प्रमको भनाई रहेको थियो ।

आफ्नै पार्टी नेकपाका कतिपय नेताले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले पनि त्यसलाई केही हदसम्म स्वीकार गर्न सकिने बताए । सरकार जुन रफ्तारमा हिँड्नु पर्ने थियो त्यो तत्कालका लागि नदेखिए पनि केही समयमै सरकारले गरेका उपलब्धि देखिने दावा पनि प्रम ओलीले गरेका थिए ।

प्रधानमन्त्री ओलीले बुधबार शिलान्यास गरेको संसद् भवन तोकिएकोकै समयमा बन्नुपर्ने कुरामा विशेष जोड दिएका थिए । अब विभिन्न विकास निर्माणका काममा ढिलाइ गरिएझैं संसद् भवन बनाउन ढिलाइ गर्ने र अनेक बाहानामा पैसा थप्न लगाउने अवस्था आफूलाई मान्य नहुने प्रधानमन्त्री ओलीको भनाइ रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.