धादिङ फागुन १९: ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेको कमान्डमा गएको टोलीले अबैध लागु औषध चरेश २७ केजी चारसय ग्राम सहित १ जना मानिसलाई पक्राउ गरेको छ। गजुरी गाउँपालिका वडा नं. ५ घाटबेशी स्थित पृथ्बी राजमार्ग छेउमा लागु औषध चरेश खरिद बिक्रि, ओसार पसार एवं कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा प्र.नि. भोजराज पाण्डेयको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त्त चरेस बरामद गरेको हो।
घाटबेशी बजारमा संकास्पद रुपमा साथमा कालो झोला बोकी हिडिरहेका ३ जना पुरुष व्यक्तिहरु लाई सोधपुछ गर्ने क्रममा साथमा बोकेको झोलाहरु भुईमा फाली तीनै जना भागेकोमा ति मध्ये १ जना गजुरी गाउंपालिका वार्ड नं ४ घर भएको बर्ष २३ को राजकुमार चेपाङलाई भाग्दै गरेको अबस्थामा नियन्त्रणमा लिईएको थियो।
भुईंमा फालेको ३ वटा कालो रंगको झोलाहरुमा पंहेलो टेपले बाहिरबाट बेरिएको अबस्थामा लागु औषध चरेश जस्तो देखिने पदार्थ २७ के.जी. चारसय ग्राम फेला परेकोले उक्त्त लागु औषध सहित पक्राउ ब्यक्ति राजकुमार चेपाङलालाई जिल्ला अदालत धादिङबाट ५ दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। अबैध लागु औषध चरेश ओसार पसार गर्ने कार्यमा संलग्न रहि फरार रहेका अन्य २ जना मानिसहरुको खोजतलास तथा अनुसन्धान कार्य भैरहेको ईलाका प्रहरी कार्यालय, गजुरीले जनाएको छ ।