काठमाडौँ, मंसिर २२ – गएको राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद अन्दाजी १४ किलो सुनका बिषयमा छानबिन गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेका छन्।
बिहिबार राती भन्सार विभागको टोलीले सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरी प्रहरी थुनामा राखेको छ। फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११ः४० बजे काठमाडौँ उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेको हो । विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको जनाइएको छ। चन्द्र घले संगै उक्त कार्यमा संलग्न गोरखाका मीनबहादुर घलेलाई समेत पक्राउ गरिएको छ।