गंगामाया अधिकारीले तोडिन् अनशन

| 2018 Jul 13 | 06:57 pm 4490

काठमाडौं, असार २९ : लामो समयदेखि छोराका हत्यारालाई कारबाहीकाे माग गर्दै वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले अनशन तोडेकी छन् । सरकारले पूर्वसम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि शुक्रबार अपराह्न अधिकारीले अनशन तोडेकी हुन्।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अधिकारीलाई अनशन तोडाएका थिए। सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारी अनशन तोड्न सहमत भएकी हुन्।

सहमतिको बुँदामा एक करोडको अक्षय कोष स्थापना गर्ने र गंगामायाका छोराको खोजी गर्न एक समिति गठन गर्ने उल्लेख छ। सहमतिपत्रमा कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेका छन्। छोराका हत्यारालाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै उनी लामो समयदेखि आमरण अनशनमा थिइन्।

उनका छोरा कृष्णप्रसादको तत्कालीन विद्रोही माओवादीले हत्या गरेका थिए। हत्याका मुख्य अभियुक्त भनिएका रुद्र आचार्य भने बेलायतमा लुकेर बसेका छन्। उनलाई प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.