खोलामा बालुवा, नचाल्दा बल्दैन चुलो

रिपोर्ट नेपाल | 2023 Mar 19 | 08:10 am 1309

सुर्खेत, चैत ५: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोलाको किनारमा बस्दै आएकी सेतु बादीको ९ जनाको परिवार छ। तर, उनीहरूको नाममा जग्गा छैन। उनले हरेक दिन खोलामा बालुवा नचाले उनको चुलो बल्दैन। परिवारको खर्च जोहो गर्ने प्रमुख आधार भनेकै खोलाको बालुवा हो।

उनी हरेकदिन बिहान ५ बजे श्रीमान्सहित खोलामा बालुवा चाल्न जान्छिन्। उनले भनिन्, ‘हाम्रो नाममा न जग्गा छ, न रोजगार नै। यही खोलाको बालुवा चालेर घरखर्च धानेका छौं, बालुवा नचाल्दा खर्च नै टर्दैन।’

यस्तै धेरै पढ्ने सपना बुनेका अमृत बादीको दैनिकी पनि फरक छैन। उनको तीन जनाको परिवार छ। उनी ७ कक्षासम्म पढेका उनी परिवारको खर्च जोहो गर्न नसकेपछि विद्यालय छाडेर खोलाकै बालुवा चाल्न थालेका छन्। उनले पनि हरेक दिन बिहानदेखि साँझसम्म खोलाको बालुवा चालेरै परिवार पाल्दै आएको बताए।

झुप्रा खोलाकै बादी समुदायका अगुवा हरि बादीकी छोरी सुशीला बादी कक्षा १२ मा पढ्छिन्। उनी भन्छिन्, ‘मेरा बुवा आमाले खोलामा बालुवा चालेर मलाई यतिसम्म त पढाउनुभयो, अब उच्च शिक्षा हासिल गर्न मलाई बुवाआमाको बालुवा चालेर गरेको कमाईले पुग्दैन। खोलामा बालुवा नचाले चुलो नबल्ने हाम्रो परिवारमा मलाई उच्च शिक्षा पढ्नका लागि खर्च व्यवस्थापन कसरी गर्ने भन्ने पिर छ।’

यहाँका हरेक बालबालिकाहरू बीचमै बिद्यालय छाड्नुको प्रमुख कारण नै पढाइ खर्चको व्यवस्थापन गर्न नसक्नु हो। यस्तै झुप्रा खोलामै बालुवा चालेर परिवार पाल्ने रूपा बादीको पीडा पनि उस्तै छ। उनको बबईमा बिबाह भयो। तर, उनी माइती नै बस्छिन्। बुवाआमा र श्रीमान् भारत गएका छन्। भाइबहिनी लगायतका परिवार पाल्नका लागि उनी पनि हरेक दिन खोलामा बालुवा केलाउँछिन्।

परिवारका सदस्यहरू कोही परदेश त कोही खोलामा बालुवा चालेको पैसाले परिवार पाल्नै सकस हुन्छ। उनले भनिन्, ‘हामीलाई कसरी परिवार पाल्ने भन्ने चिन्ताले नै पिरोल्छ, अन्य पेसा व्यवसाय र उद्यम गर्ने समय पनि हुँदैन। दुई दिन बालुवा नचाले अर्को दिन चुलो बल्न बन्द हुन्छ।’

झुप्रा खोलामा रहेका १ सय ३ बादी परिवार र अन्य समुदायका ३६ घरधुरी सबैको समस्या उही छ। वर्षौं लगायर बनाएको झुप्रो पनि कहिले बर्खामा खोलामा आएको बाढीले बगाएर लान्छ। खोलामा तटबन्धन पनि छैन। झुप्रा खोलाको १० किलोमिटर दुरीमा रहेको सुब्बाकुनामा विद्युतलाइन छ। तर, त्यो बादी बस्तीमा वर्षौं भयो विद्युत् पुगेको छैन। अन्नपूर्ण पाेस्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.