खोप लगाउने तयारी अन्तिम चरणमा

| 2021 Jan 25 | 09:34 am 1805

काठमाडौं, माघ १२ः सरकारले कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध भारत सरकारबाट उपहारस्वरूप प्राप्त १० लाख डोज खोप लगाउने तयारी अन्तिम चरणमा पु-याएको छ । यसका लागि सरकारले हालसम्म सात वटै प्रदेशमा खोप ढुवानी गरेको छ भने खोप केन्द्रहरू तयारी अवस्थामा राखिएका छन् । खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिमसमेत गराइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान बुधबार बिहान १० बजे शुभारम्भ गरिने जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सात वटै प्रदेशमा रहेका अस्पताल र काठमाडौंमा रहेका प्रमुख अस्पतालका कर्मचारी भर्चुअल विधिबाट प्रत्यक्ष जोडिएर अभियानको शुभारम्भ गरिनेछ ।

आगामी १८ गतेभित्र देशका ७७ वटै जिल्लाका ३ सय वटा खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिनेछ । स्वास्थ्यमन्त्री त्रिपाठीले लक्षित समूहलाई मात्र खोप उपलब्ध गराउन सम्बन्धित संस्थाले खोप लगाएका व्यक्तिको सूची तयार गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको पनि जानकारी दिए । उनले निर्धक्क भएर खोप लगाउन आग्रह गरे ।

पहिलो चरणको खोप अभियान १० दिनभित्र सम्पन्न गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ । मन्त्री त्रिपाठीले खोप अभियानको पहिलो चरण सम्पन्न हुनुअघि नै थप खोप पनि आइसक्ने जानकारी दिए । उनले भने, ‘पहिलो चरणको खोप अभियान सकिनुअघि नयाँ खोप आउनेछ । यो अभियानलाई सफल बनाउन आग्रह गर्छु ।’

सरकारले संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवहरूको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीले पहिलो चरणमा खोप उपलब्ध गराउने बताएको छ । हालसम्म झन्डै २ लाख स्वास्थ्यकर्मीले खोप लगाउन फाराम भरेको बताइएको छ ।

नेपाललाई प्राप्त भएको खोप अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनिका नामक औषधि उत्पादकले संयुक्त रूपमा विकास गरेको र भारतमा रहेको सेरम इस्न्टिच्युटले उत्पादन गरेको हो । सो खोपको तेस्रो चरणको ट्रायल पनि भइसकेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.