खोप कभरेजमा हामी भारतभन्दा अगाडि छौं’ डा. गौतम

रिपोर्ट नेपाल | 2021 Mar 12 | 07:38 am 1733

काठमाडौं, फागुन २८: स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १२ पुसमा कार्यभार सम्हाल्दै भनेका थिए, ‘रहस्यमय भाइरसको चपेटामा छौं। कोरोनाविरुद्धको भ्याक्सिन प्रभाव हेर्न त बाँकी नै छ। तर, जनतालाई निःशुल्क खोप उपलब्ध गराउने अठोटसाथ अघि बढ्छौं।’

भारतीय राजदूत विनयमोहन क्वात्रा १६ पुसमा मन्त्री त्रिपाठीलाई बधाई एवं शुभकामना दिन पुगेका थिए। सोही बेला मन्त्री त्रिपाठीले खोप उपलब्धताका लागि सहजीकरण गरिदिन राजदूत क्वात्रासमक्ष आग्रह गरे। त्यसपछि मन्त्री त्रिपाठी विभिन्न मुलुकका राजदूत र कूटनीतिक निकायमा पनि खोपका लागि अग्रसर भएका थिए।

सार्क मुलुकमा भारतले पहिलो पटक माघ ३ गते खोप अभियान सुरु गरेको थियो। त्यसपछि यो क्षेत्रमा खोप पाउनेमा दोस्रो बन्यो नेपाल। हामीकहाँ माघ १४ गते सुरु गरिएको अभियान दोस्रो चरणमा पुगेको छ। यो अवधिमा झन्डै ४.५ प्रतिशत जनसंख्याले खोप लगाएका छन्। जब कि भारतमा कुल जनसंख्याको १.४ प्रतिशत (बुधबारसम्म)ले मात्रै लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।

भारतले सुरुमा १० लाख डोज कोभिसिल्ड खोप नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको थियो। भारतकै सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ नेपालीले लगाएका छन्। दोस्रो चरणमा बिहीबारसम्म ९ लाख ११ हजार ९ जनाले लगाएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए। डा. गौतमका अनुसार ‘खोप कभरेज’ कुल जनसंख्याको ४.५ प्रतिशत छ।‘खोप कभरेजमा हामी भारतभन्दा अगाडि छौं’, डा. गौतमले भने, ‘सार्क मुलुकमा हामी दोस्रो स्थानमा छौं। पहिलो स्थानमा माल्दिभ्स छ। खोपको सुरुवात त र कभरेज गर्नेमा नेपाल उदाहरणीय बनेको छ।’ उनका अनुसार सयभन्दा बढी मुलुकले अझै खोप पाएका छैनन्।

सरकारले सेरम इन्स्टिच्युटबाट चार डलरका दरमा २० लाख डोज खरिद सम्झौता गरी १० लाख डोज ल्याएर दोस्रो चरणको अभियान जारी छ। बाँकी १० लाख डोज ल्याउने तयारी सरकारको छ। कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीका अनुसार खोप पर्याप्त भए यसको कभरेज बढी हुन्थ्यो। ‘अति जोखिममा पर्ने ५५ वर्ष माथिका नागरिकलाई अहिले नै खोप लगाइन्थ्यो। यसले गर्दा खोप कभरेज झन् बढी हुन्थ्यो’, संयोजक डा. उप्रेतीले भने।

कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त हुने खोपको पहिलो चरणमा ३ लाख ४८ हजार डोज आइसकेको छ। संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि सारा बेसोलो न्यन्तीले फागुन २३ गते मन्त्री त्रिपाठीलाई खोप र सिरिन्जलगायत सामग्री हस्तान्तरण गरेकी थिइन्। यसबाहेक थप ५० लाख कोभिसिल्ड खोप खरिद प्रक्रिया अघि बढेको मन्त्रालयका एक उच्च अधिकारीले बताए। चीन सरकारबाट पनि ५ लाख डोज खोप प्राप्त हुँदै छ। खरिद गरिएको र कोभ्याक्समार्फत आउने खोप छिटो उपलब्ध गराउन पहल भइरहेको डा. उप्रेतीले बताए।

‘सामान्य प्रयासले नेपालमा खोप आएको होइन। खोप उत्पादक मुलुक, संस्था  एवं निकायले सहयोग नगर्ने हो भने प्राप्त गर्न कठिन छ’, मन्त्री त्रिपाठीले हालै एक अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीसँग भनेका थिए।

सरकारले फागुन २३ गते देशव्यापी रूपमा सुरु गरेको दोस्रो चरणको अभियान जारी  छ। ७७ वटै जिल्लाका ६५ वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाइरहेका छन् । दोस्रो चरणमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाइरहेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.