खोटाङ , चैत १ : खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायिक वनबाट सुरु भएको डढेलो घलेगाउँमा छिरेको छ । भीषण डढेलोले रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अविकेसर पाण्डे र भीम पाण्डेको घर जलिसकेको छ ।
डढेलोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घरसमेत जलिसकेको छ । डढेलोले अन्य घर समेत जोखिममा परेको गाउँपालिका रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताए ।
‘आगोले एकदमै प्रलय निम्त्याएको छ, अरू धेरै घरहरू पनि जोखिममा परेको छ, प्रमुख निरौलाले भने, ‘ऐसेलुखर्कबाट सेना र प्रहरी झिकाएर निभाउने प्रयास भइरहेको छ’ निरौलाले बताए ।
जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले पनि भीषण डढेलोले घर जलेको पुष्टि गरेका छन् । दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदाियक वनबाट सुरु भएको डढेलो चिन्डेश्वर हुँदै हङखोला तरेर माक्पाको लेवा पुगेको ऐसेलुखर्क गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।