सुनसरी, १४ असोज : गृहमन्त्री रामबहादुर थापाले अज्ञात बन्दुकधारीद्वारा हत्या गरिएका हरिनगर–२ भुटाहाका खुर्सिद आलम अन्सारीलाई सरकारले सहिदको सूचिमा राखेको प्रमाणपत्र खुर्सिदका परिवारलाई आइतबार भेटेर हस्तान्तरण गरेका छन् । गृहमन्त्री थापाले खुर्सिदका परिवारलाई सान्तवना दिँदै सहिदको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
गाउँमै आयोजित श्रदाञ्जली सभामा थापाले मुलुक स्थीरता तर्फ उन्मुख भइरहेको बेला अशान्ती फैलाउन खोज्ने शक्तिले खुर्शिदमाथि आक्रमण गरेको उल्लेख गर्दै हत्यामा संलग्न अपराधीलाई सात समुद्रपारी भएपनि कानूनी दायरामा ल्याउने आश्वासन दिएका थिए ।
सुनसरीमा आइतबार आएका गृहमन्त्री थापाले खुर्सिदका श्रीमती खतिजा खातुन र परिवारसँग भेटघाट गरेका थिए । उक्त अवसरमा गृहमन्त्री थापाले खुर्सिद हत्या पछि परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँको चेक पनि हस्तान्तरण गरेका थिए ।
स्थानीय रैयान स्कुलको व्यवस्थापन समितिका अध्यक्ष रहेका खुर्सिदको असोज ५ गते बिहान दुइटा मोटरसाइकलमा आएका चारजना अज्ञात बन्दुकधारीले गोली प्रहार गरेर हत्या गरेका थिए ।
हरिनगरको भूटाहमा खुर्सिद परिवारलाइ भेटेपछि गृहमन्त्री थापाले सुनसरीको पकलीस्थित शसस्त्र प्रहरीवलको बराह बाहिनीको निरिक्षण गरेका थिए । उनी त्यसपछि इटहरीमा आज नै आयोजित गरिएको लागुऔषध, महिला हिंसा र अपराध नियन्त्रण सम्बन्धी गोष्ठीमा सहभागी भएका छन् । गृहमन्त्री थापासँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, कृषी तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीलगायतको उपस्थिती रहेको छ ।