खाल्डोको पानीमा डुबेर दुई बालकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Aug 17 | 06:47 pm 1931

बैतडी, भदौ १ः खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देहीमाण्डौंका १४ बर्षीय अंकित लाबड र ११ बर्षीय सन्दीप लावड रहेका छन् ।

उनीहरुको देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

होम पाइप राख्नका लागि बनाइएका खाल्डोमा बर्षातको पानी जम्मा भएको र सोही खाल्डोमा खेल्ने क्रममा सोमबार दिउँसो साढे चार बजे ति डुबेर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेल्नका लागि सडकमा जम्मा भएका ५–६ जना मध्ये एकजना पहिला खाल्डोमा गएको र उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवै जना खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

दुईजना खाल्डोमा डुबेपछि खेल्नका लागि सडकमा रहेका अन्य बालबालिकाहरुले घरपरिवारलाई खबर गरेपछि घटनाका बारेमा थाहा भएको उनले बताए । घटनापछि प्रहरीको टोलीले दुवै जनाको शव खाल्डोबाट बाहिर निकालेको र घटनाबारे थप अनुसन्धान भईरहेका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

सडकमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा दुईजना बालकको डुबेर ज्यान गएपछि प्रहरीले सो खाल्डो तत्काल पुर्न निर्माण व्यवसायीलाई आग्रह गरेको छ । देहीमाण्डौं–गिरेगडा सडक स्तरोन्नतीको काम भईरहेकाले होम पाइप राख्ने ठाउँमा चाँडो होम पाइप राख्न आग्रह गरिएको उनले बताए ।

एकै गाउँका दुई बालकको खाल्डोमा डुबेर ज्यान गएपछि पुरै गाउँ शोकमग्न भएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.