खानेपानी मन्त्रीद्वारा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात

रिपोर्ट नेपाल | 2019 May 28 | 06:34 pm 1587

काठमाडौं, जठे १४ : खानेपानी मन्त्रालयले छैटौँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिलाहरूले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात मन्त्रालयको भवनबाटै सुरु गरेकी छन् । खानेपानीमन्त्री बिना मगरले महिलाहरूलाई महिनावारीको समयमा समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात गरेकी हुन् ।

दुई रुपैयाँको सिक्का हालेपछि उक्त मेसिनबाट प्याड आफै निस्कने गर्दछ । मन्त्रालयमा कार्यरत महिला कर्मचारीहरू र काम विशेषले आउने जो कोही महिलाहरूले समेत उक्त प्याड प्रयोग गर्न सक्नेछन् । मन्त्रालयको महिला शौचालयमा प्याड मेसिन जडान गरिएको छ । मेसिनको सुरुवात गर्दै मन्त्री मगरले यस्तो प्रविधिको मेसिन विभिन्न सार्वजनिक महिला शौचालयहरूमा राख्दै लगिने बताएकी छन् । उनले भनिन्, ‘यो त हामीले सुरुवात मात्र गरेका हौँ । महिनावारी हुने समयमा महिलाहरूलाई समस्या पर्ने गर्दछ । अझ सार्वजनिक महिला शौचालयहरूमा यस्तो मेसिन राख्न पाइयो भने महिलाहरूलाई धेरै सहज हुने गर्छ । हामी बिस्तारै अन्य ठाउँहरूमा राख्दै जानेछौँ ।’

मन्त्रालयले महिला तथा बालबालिका मन्त्रालयको भवनमा समेत स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ । त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो चरणमा सातै प्रदेशको नौ वटा ठाउँहरूमा महिला तथा अपाङ्ग मैत्री स्मार्ट शौचालय बनाउने तयारी समेत गरेको छ । यी स्मार्ट शौचालयहरूमा स्यानिटरी प्याड भेन्डिङ मेसिन समेत जडान गरिने विभागकी उपमहानिर्देशक मिना श्रेष्ठले जानकारी दिएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.