खाद्यान्न संकट हुन नदिन हुम्लामा हवाई उडान जारी राख्ने निर्णय

रिपोर्ट नेपाल | 2021 May 07 | 11:48 am 2033

हुम्ला, बैशाख २४ः कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ ।

केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्षको बैठकले हरेक दिन बढ्दो संक्रमणको अवस्था हेर्दा पछि स्थिति भयावह हुन सक्ने अवस्थालाई ध्यानमा राखी जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो ।

जिल्लामा उडान भर्दै आएका निजी विमान कम्पनी सीता एयर, तारा एयर र समिट एयरका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

गत सोमबार नेपालगञ्ज र सुर्खेत हुँदै जिल्ला आएका यात्रुमध्ये एन्टिजेन परीक्षण गरिएका आठ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज र सुर्खेतसँगको प्रत्यक्ष हवाई सम्पर्क बिच्छेद गर्न यही वैशाख २२ गते राति १२ बजेदेखि संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाभर निषेधाज्ञा गरिएको थियो भने सुर्खेत र  नेपालगञ्जबाट हुने सबै उडान बन्द गरिएको थियो ।

एयरलाइन्सद्वारा ढुवानी गरेर ल्याइएका सामग्री यही वैशाख २८ गतेपछि मात्रै सम्बन्धित व्यक्ति र निकायमा दिइने निर्णय बैठकले गरेको छ ।

निजी विमान कम्पनीले ढुवानी गरेर ल्याएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री झार्न लोडरले अनिवार्य पिपिसेट लगाउनुपर्ने बताइएको छ ।

सीताका तीन उडान
निषेधाज्ञा जारीपछि डिसिसिएमसीको निर्णयअनुरुप  सीता एयरले तीन उडान भरेको छ । जिल्लामा खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री ल्याउन उडान अनुमति दिइएसँगै सीता एयरले सुर्खेत र नेपालगञ्जबाट नेपाल खाद्य तथा व्यापार कम्पनीको चामल ल्याएर उडान भरेको एयर हुम्लाका स्टेशन इञ्चार्ज छेपाल लामाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.