खाद्यले सहकारीमार्फत चामल बिक्री गर्ने

रिपोर्ट नेपाल | 2023 Jan 29 | 07:30 am 1053

रुकुमपूर्व, माघ १५ः रुकुमपूर्वको रुकुमकोटमा सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयले सहकारी संस्थामार्फत गाउँगाउँमा चामल बिक्री गर्ने योजना पनि बनाएको छ ।

सो शाखा कार्यालयले जिल्लामा रहेका सहकारी संस्थालाई चामल बिक्री गर्न आग्रह गरेको छ । सहकारी संस्थाले चामल बिक्रीका लागि यो शाखासँग सम्झौता गरेमा सदरमुकामकै मूल्यमा गाउँमा चामल बिक्री गर्न पाउने व्यवस्था गरिएको छ ।

रुकुमपूर्व जिल्लाको रुकुमकोटमा गत असोजमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा सञ्चालनमा ल्याइएको हो । यसअघि शोभा डिपो र तकसेरा डिपोबाट चामल बिक्री हुँदै आएको थियो । यो आर्थिक वर्षमा जिल्लामै शाखा स्थापना हुँदा सहज भएको शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए ।

खाद्य कम्पनीको शाखा कार्यालयका अनुसार रुकुमपूर्वमा धान उत्पादन कम हुने भएकाले खाद्य व्यवस्था कम्पनीले बिक्री वितरण गर्ने चामलको माग धेरै छ । यहाँ चामलको माग धेरै भएकाले शाखा नै सञ्चालन गरेर खाद्य कम्पनीले चामल बिक्री सुरु गरेको हो । यो शाखाबाट असोजदेखि हालसम्म एक हजार पाँच सय क्विन्टल चामल बिक्री भएको छ ।

यस जिल्लामा धान कम फल्छ । सिस्ने गाउँपालिकाबाहेक अन्य दुई स्थानीय तहमा कमै मात्रामा धान खेती हुने भएकाले पनि खाद्य कम्पनीको चामल धेरै बिक्री हुने गरेको शाखा प्रमुख खड्काले बताए।

यो आर्थिक वर्ष रुकुमपूर्वका लागि तीन हजार पाँच सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ । हाल यो शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बासमती चामल बिक्री भइरहेको छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.