खराब कर्जाको उच्च वृद्धिले नाफा औसत

| 2023 Apr 21 | 07:22 am 1609

काठमाडौँ, वैशाख ८ः उद्यम व्यवसायमा देखिएका शिथिलताको असर बैङ्कहरूको खराब कर्जा र नाफामा प्रतिविम्बित भएको छ । सञ्चालनमा रहेका २१ वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको तेस्रो चौमासिक विवरणअनुसार खराब कर्जा ३.०३ प्रतिशतमा पुग्दा बैङ्कहरूलाई नोक्सानीबापतको व्यवस्था (प्रोभिजनिङ)मा उच्च वृद्धि गर्दै नाफालाई औसतमा सीमित गर्नुपर्ने बाध्यतामा पुगेका हुन् । १.२२ प्रतिशतमा रहेको गत वर्षको खराब कर्जा दोब्बरभन्दा धेरै १.८१ प्रतिशत बिन्दुले बढेको छ ।

वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको चैतसम्ममा २१ बैङ्कको खुद नाफा ४८ अर्ब ७० करोड रुपियाँ पुगेको छ जुन गत वर्ष सोही अवधिमा ४३ अर्ब ६१ करोड रुपियाँ थियो । नाफामा भएको यो वृद्धि ११.६७ प्रतिशत हो ।

प्रोभिजनिङ भने यसपालि ४.४ गुणा (४४० प्रतिशत) वृद्धि भएको छ । गत वर्ष चैतसम्म ७ अर्ब रुपियाँ मात्र प्रोभिजनिङ गरिएकामा यसपालि नौ महिनामै बैङ्कले ३० अर्ब ८६ करोड रुपियाँ  प्रोभिजनिङ गरेका छन् । जुन गत वर्षभन्दा २३ अर्ब ८६ करोड रुपियाँले बढी हो ।

नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठका अनुसार अहिलेको अवस्थामा बढेको खराब कर्जा र प्रोभिजनिङको व्यवस्थापन उचित र स्वाभाविक हो । “समग्र आर्थिक अवस्था कमजोर हुँदा बैङ्कहरूमा खराब कर्जा र त्यसबापतको जोखिम व्यवस्थापन गर्नु स्वाभाविक नै हो,” उनले भने,

“खराब कर्जा दक्षिण एसियाली मुलुकको तुलनामा हामी सुरक्षित अवस्थामै छौँ, पाँच प्रतिशतभित्रै रहनु सुरक्षित अवस्था हो ।”  उनका अनुसार अहिलेको जोखिम व्यवस्थापनको दर हेर्दा बैङ्कहरूले भविष्यमा आउन सक्ने जोखिमप्रति पनि बेलैमा सचेतता अपनाएका छन् । यो अवस्थामा पनि औसत दरको नाफा सुरक्षित हुनु सकारात्मक पक्ष रहेको उनले बताए।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा उच्च नाफा सुरक्षित गर्नेमा नबिल बैङ्क एक्लैले पाँच अर्ब ११ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ ।  जुन नाफा ५२.६३ प्रतिशत वृद्धि हो । नबिल बैङ्कले तनि अर्ब ३३ करोड रुपियाँ प्रोभिजनिङ गरेको छ ।

नाफामा सबैभन्दा धेरै वृद्धिदर लिएको एभरेस्ट बैङ्कको ६२.६३ प्रतिशत बढेर दुई अर्ब ४६ करोड रुपियाँमा कायम छ । सबैभन्दा कम खराब कर्जा भएको दोस्रो बैङ्कका रूपमा पनि यो बैङ्क परेको छ । बैङ्कले ५५ करोड १४ लाख रुपियाँ छुट्याएको छ ।

ग्लोबल आईएमई बैङ्कले चार अर्ब ३५ करोड रुपियाँ नाफा गर्दा दुई अर्ब ७१ करोड रुपियाँ प्रोभिजनिङ गरेको छ । सबैभन्दा कम प्रोभिजनिङ गरेको एनआईसी एसिया बैङ्कले चार अर्ब एक करोड रुपियाँ नाफा कमाउँदा २३ करोड ५२ लाख रुपियाँ प्रोभिजनिङ गरेको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले आफ्नो नाफा तीन अर्ब रुपियाँभन्दा माथि पु-याएका छन् ।

नोक्सानीमा केही बैङ्क

चालु आर्थिक वर्षमा विभिन्न बैङ्कले नाफा आर्जन गर्दा केही ठूला बैङ्कसहित सातवटाको  भने गत वर्षको भन्दा नाफा खस्केको अवस्थामा पुगेका छन् । सबैभन्दा धेरै नोक्सानी बेहोर्नेमा कृषि विकास बैङ्कको नाफा ४५.३६ प्रतिशत घटेको छ भने सिद्धार्थ बैङ्कको नाफा पनि २८.६५ प्रतिशत घटेको पाइएको छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.