सुनसरी, पुस ७ : सशस्त्र गतिविधि गर्दै आएकाे भूमिगत समूह खम्बुवान मुक्ति माेर्चा (संयुक्त) ले हतियार बुझाएकाे छ । आज जिल्ला प्रशासन कार्यालय, सुनसरीमा आयाेजित एक कार्यक्रमबीच माेर्चाले सरकारी वार्ता टाेलीसामु हतियार बुझाएर आफू निशस्त्र भएकाे घाेषणा गरेकाे हाे ।
झण्डै एक दशकदेखि भूमिगत रुपमा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएकाे माेर्चाले सरकारी वार्ता टाेलीसँगकाे वार्ता सकारात्मक भएपछि टाेलीका संयाेजक साेमप्रसाद पाण्डेलाई हतियार बुझाएकाे हाे ।

माेर्चाले बुझाएका हतियारमा ५ थान बरुवा बन्दूक रहेका छन् । साथै १ थान म्यागजिन, १ थान पेस्ताेल र ४ थान गाेली माेर्चाले बुझाएकाे हाे ।
यसअघि जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति माेर्चाका नेता र अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूहका नेता र कार्यकर्ताहरुले सरकारी राजनीतिक वार्ता टोलीसमक्ष हतियार बुझाइसकेका छन् ।