क्रियाशील सदस्यलाई निःशुल्क दुर्घटना बिमा गराउने नवराज जोशीको घोषणा

| 2021 Nov 13 | 11:54 am 1901

कञ्चनपुर, कात्तिक २७ः नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर २ का सभापतिका उम्मेदवार नवराज जोशीले क्रियाशील सदस्यहरुलाई निःशुल्क दुर्घटना बिमा गर्ने घोषणा गरेका छन्।

कांग्रेसका क्रियाशीलहरुलाई कुनै पनि सुविधा नभएको र कांग्रेस आन्तरिक राजनीतिको भोट बैंकको रुपमा मात्र प्रयोग गरेको भन्ने आरोप लाग्ने गरेकोमा जोशीले नयाँ योजना सुरुवात गरेका हुन्।

कञ्चनपुर क्षेत्र नम्बर २ मा ३३ सय क्रियाशील सदस्यहरु रहेका छन्। सभापतिका उम्मेदवार जोशीले आफू निर्वाचित भएमा निशुल्क दुर्घटना बिमा गराउने घोषणा गरेका हुन्।

त्यसैगरी क्षेत्र नम्बर २ मा रहेका तीन स्थानीय तहमा र ३० वडा, दुई प्रदेश क्षेत्र र एक प्रतिनिधि सभाको क्षेत्रमा पनि आगामी निर्वाचनमा कांग्रेसको सिंगो टिमलाई निर्वाचित गराउने वातावरण सिर्जना गर्नेसमेत जोशीले दाबी गरेका छन्।

क्षेत्र नम्बर २ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा महामन्त्रीका उम्मेदवार एनपी साउँदको क्षेत्र हो। क्षेत्रीय सभापतिका लागि लालबहादुर सिंहले पनि उम्मेदवारी घोषणा गरेका छन्। सिंहभन्दा जोशी बलियो उम्मेदवारको रुपमा देखिएका छन्। जोशीले आफूलाई एनपी साउँदसहित सबै नेताहरुको समर्थन र अधिकांश क्षेत्रीय प्रतिनिधिहरुको समर्थन रहेकोसमेत दाबी गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.